११ बैशाख २०८१, मंगलवार
Follow Us

श्रीमतीको हत्या गरेर गाडेको खुलासा

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०७४, सोमबार १३:२९

पाँचथर । अत्यधिक मादक पदार्थ सेवन गरेका पाँचथर फिदिम नगरपालिका–३, सिलौटीका एक व्यक्तिले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर जमिनमुनि गाडेको खुलासा भएको छ । बयालीस वर्षीया गंगामाया सुनुवारलाई उनकै श्रीमान् ६१ वर्षीय डिकबहादुर सुनुवारले हत्या गरेर जमिनमुनि गाडेको रहस्य खुलेको आज प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

गंगामाया १६ दिनदेखि बेपत्ता थिइन् । छिमेकीले आशंका गरी प्रहरीमा उजुरी दिएपछि उनका श्रीमान् डिकबहादुरलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उक्त रहस्य खुलेको हो ।

उनले प्रहरीसमक्ष गंगामायाको आफैंले हत्या गरी घटना लुकाउन घर नजिकैको आलुबारीमा खाल्डो खनी गाडेको बयान दिएका छन् । प्रहरीका अनुसार टेकबहादुरले गत फागुन ५ गते राति १० बजेतिर सामान्य घरायसी विवादको क्रममा चिर्पट प्रहार गरी गंगामायाको हत्या गरेका थिए ।

डिकबहादुरले शव गाडेको ठाउँमा उत्खनन गर्दा टाउकोमा चोट लागेको अवस्थामा गंगामायाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो ।

टेकबहादुरलाई अहिले प्रहरीको हिरासतमा राखिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताउनुभयो ।

गंगामाया र टेकबहादुरबीच सामान्य झगडा भएको रातदेखि गंगामाया बेपत्ता भएपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए ।