८ बैशाख २०८१, शनिबार
Follow Us

मधेसी दलको अनसनमै भ्रष्टाचार

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७३, मंगलवार १५:२६

काठमाडौं । नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत संलग्न रहेको संघीय गठबन्धनमा हिसाब किताब गोलमाल गरेकोमा लफडा भएको छ । खुलामञ्चमा ३९ दिनसम्म अनसन गरेका गठबन्धनका सहयोगी पार्टी र नेताहरूले प्रतिबद्धता जनाएअनुसारको रकम नदिएपछि हिसाब–किताबमा लफडा भएको हो । उक्त अवधिमा आठ लाख बढी खर्च भएको विवरण गठबन्धन बैठकमा राखिएको छ, तर त्यसमा पनि रकम दुरुपयोग भएको भन्दै केही नेता र पार्टीले रकम दिन आनाकानी गरिरहेका छन् ।
अनसनका लागि गठबन्धनमा आबद्ध प्रत्येक दलले २५ हजार दिने र सांसदहरू रहेका दलले जति सांसद छन्, त्यति सांसदले २५–२५ हजार रुपैयाँ दिने भनिएको थियो । तर, गठबन्धनको निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका राजेन्द्र महत्तो नेतृत्वको सद्भावना पार्टीले भने एक रुपैयाँ पनि दिएन । पार्टीको हैसियतअनुसार उसले २५ हजारसहित चारजना सांसदको २५–२५ हजारसहित एक लाख २५ हजार बुझाउनुपर्ने थियो ।
अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकले पनि दिनुपर्ने रकम दिएनन् । दुवैले ५०–५० हजार गरी एक लाख रकम दिनुपर्ने थियो । गठबन्धनमा रहेका, तर संसद्मा नरहेका अन्य केही साना दलले पनि रकम दिएका छैनन् ।
महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले पनि पूरै रकम दिएन । माग्दा पनि नदिएपछि गठबन्धन समस्यामा परेको छ । सबै पार्टी र सांसदबाट आउने १८ लाख रुपैयाँमध्ये आठ लाख खर्च गरिएको भनिए पनि त्यसमा हिनामिना गरेपछि रकम नदिने दल र सांसदहरूले बताएका छन् ।
उक्त रकम संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारु र तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता रामसहाय यादवको हस्ताक्षरबाट मात्रै निकासा हुन्थ्यो । तर यसरी रकम निकासा भए पनि अनसनका जिम्मेवारी लिएका जनजाति नेताहरूले उक्त रकम हिनामिना गरेको आरोप लगाइएको छ । अनसनको रकम हिनामिना गरेको आरोप लगाउँदै केही नेताले छानबिनको माग गरे पनि गठबन्धन संयोजक उपेन्द्र यादवले कुनै कुरा नसुनेको गठबन्धनका एक नेताले बताए ।