१६ चैत्र २०८०, शुक्रबार
Follow Us

यस्तो थियो : शीर्ष नेताहरुको संसदमा सम्बोधन

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०७४, मंगलवार ०९:०९

काठमाडौं । विभिन्न दलका शीर्ष नेताहरुले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदको आज बसेको बैठकलाई सम्बोधन गर्दै दलका शीर्ष नेताहरुले अब राजनीतिक खिचातानी नगरी मुलुकलाई अघि बढाउनुपर्ने बताएका हुन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संविधान संशोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधानलाई अझ सर्वस्वीकार्य बनाउने काममा सहयोग गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

संविधान संशोधनको विरोधमा दलहरु नै अहिले सरकारमा पुगेपछि संशोधनका विषयमा सकारात्मक हुनुले आफूलाई खुसी लागेको उनको भनाइ थियो । नेता देउवाले संविधानका आधारभूत संरचनामा परिर्वतनको प्रयास भने नगर्न आग्रह गरे । उनले अदालतलाई तर्साउने र प्रेसलाई धम्क्याउने काम पनि गर्न नहुने बताए ।

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मुलुकलाई बनाउन अब प्रधानमन्त्रीको खुट्टा तान्ने काम गर्न नहुने बताए । उनले विगतका विभिन्न संसदीय समितिमा सरकारको खुट्टा तान्ने काम हुने गरेको भन्दै अब सबै एकजुट भएर मुलुक बनाउनतर्फ लाग्नुपर्ने बताए । नेता नेपालले सरकारले कानुनी संरचनामा गर्नुपर्ने सुधारका साथै भ्रष्टाचार अन्त्य गर्ने कुरामा जोड दिनुपर्ने बताए । उनले जनतामा लोकप्रिय भएकाले वामपन्थीहरुले चुनाव जितेको भन्दै वामपन्थी सरकारले लोकतन्त्र मास्छ कि भनेर नडराउन कांग्रेसका नेताहरुलाई आग्रह गरे ।

यसैगरी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राज्य संयन्त्र भ्रष्टाचारले ग्रस्त भएको भन्दै यसलाई अन्त्य नगरेसम्म मुलुक अघि बढ्न नसक्ने बताए । उनले राज्य संरचनामा सुशासन र भ्रष्टाचार ब्याप्त रहेको भन्दै यसलाई अन्त्य नगरेसम्म विकास र समृद्धि हुन नसक्ने बताए ।

अध्यक्ष दाहालले नेपालमा भारत परस्त र चीन परस्त भन्ने युग पनि सकिएको दाबी गरे । वर्तमान सरकारले नेपाललाई विकासको युगतिर अगाडि बढाएर विदेश गएका लाखौं नेपालीलाई स्वदेश फर्काउने उनको भनाइ थियो । अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न तयार रहेको बताउनुले राष्ट्रिय एकताका साथ विकास र समृद्धितिर जाने सन्देश दिएको दाबी गरे । बैठकलाई राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गरेका थिए ।