१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसले राष्ट्रपतिमा लक्ष्मी राईलाई उठाउने

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७४, बुधबार ०४:४५

काठमाडौं। नेपाली काँग्रेसले राष्ट्रपतिमा एमाले माओवादी उमेद्वार विद्या भण्डारीलाई निर्विरोध हुन नदिने भएको छ। काँग्रेसले वहालवाला राष्ट्रपति समेत रहेकी भण्डारीको प्रतिष्पर्धामा काँग्रेस नेतृ लक्ष्मी राईलाई उठाउने भएको हो।

काँग्रेसमा राईका अतिरिक्त अर्का नेता मान बहादुर विश्वकर्मालाई पनि उठाउने बारेमा चर्चा भएको थियो। तर एमाले माओवादी गठवन्धनका तर्फबाट महिला उमेद्वार भएका बेला राई नै उमेद्वार हुन उपयुक्त हुने निष्कर्षमा सभापति शेर बहादुर देउवा सहितका काँग्रेस नेताहरु पुगेका थिए। शहीद दिवान सिंह राईकी छोरी लक्ष्मी नेपाली काँग्रेसमा परिचित नाम हो। नेपाली काँग्रेसमा दिवानसिंह राई श्रद्धाले लिइने नाम हो।

भोजपुरमा जन्मिएकी वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई पुन राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेसंगै काँग्रेसले पनि भोजपुरकै चेली राईलाई उमेद्वार बनाउने अन्तिम तयारी गरेको हो। काँग्रेस केन्द्रीय समितिले राईको पक्षमा औपचारिक निर्णय गरे राष्ट्रपतिमा भोजपुरमा जन्मिएका दुई महिलाका बीचमा प्रतिष्पर्धा हुने देखिएको छ । २९ गते हुने राष्ट्रपति निर्वाचन हुँदै छ भने बुधवार मनोनयन हुँदैछ ।