१५ चैत्र २०८०, बिहीबार
Follow Us

डिमे कारागार चलान

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७४, बुधबार १३:१८

नुवाकोट । ठूलो संख्यामा वन्यजन्तुको अङ्ग तस्करीमा संलग्न रहेको अभियोगमा अदालतबाट दोषी ठहरिएका लोडु डिमे कारागार चलान भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी जिल्ला वन कार्यालय नुवाकोटलाई बुझाएलगत्तै फैसला कार्यान्वयनका लागि डिमे आज कारागार चलान भएका हुन् ।

काठमाडाँै बौद्धका ४० वर्षीय डिमेलाई सिआइबी इन्टरपोलले भारतीय इन्टरपोलको सहयोगमा सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी जिल्ला वन कार्यालय नुवाकोटलाई बुझाएको थियो ।

वन्यजन्तु तस्करी अभियोगमा तत्कालीन पुनरावेदन अदालतको २०७१ फागुन १२ को फैसलाले पाँच वर्षको कैद सजाय तोकिएकाले उनलाई कैद भुक्तानीको लागि कारागार पठाइएको जिल्ला वन अधिकृत पदमराज नेपालले जानकारी दिनुभयो ।

जिल्ला वन कार्यालयल नुवाकोटले २०७१ असार १३ गते डिमेलाई रु एक लाख जरिवाना सुनाएपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन पुगेको थियो । वन कार्यालयको फैसला उल्टाउँदै डिमेलाई पुनरावेदन अदालत पाटन, ललितपुरले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐनअनुसार अवैधरुपमा आखेटोपहार ओसारपसार मुद्दामा पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

श्रीमतीको हत्या आरोपमा पक्राउ

यसैगरी लिखु गाउँपालिका–६ थानसिङका कृष्ण लामालाई आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमती राममाया लामालाई मंगलबार राति चिर्पट र पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।