१३ बैशाख २०८१, बिहीबार
Follow Us

जोआना लुम्ले लण्डन दूतावासमा, नारी दिवस भव्य

sarusaru
२४ फाल्गुन २०७४, बिहीबार ०१:१७

लण्डन । ‘गोर्खाकी छोरी’ भनेर समेत चिनिने चर्चित बेलायती अभिनेत्री जोआना लुम्ले लण्डनस्थित नेपाली दूतावासमा आयोजित नारी दिवस कार्यक्रममा सहभागी बनेकी छिन् । बेलायतका विभिन्न क्षेत्रबाट भेला भएका एक सय बढि नेपाली महिलाहरुले अभिनेत्री लुम्लेसंगै नारी दिवस मनाउने अवसर पाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेत्री लुम्लेले ऐतिहासिक रुपमै पुरुषको तुलनामा महिलाहरुको हैसियत समान हुन नसकेको तर पछिल्लो समय सकारात्मक परिवर्तन हुंदै गरेको बताइन् । पश्चिमा देशहरुमा मात्र नभएर नेपालमा समेत महिलाहरुको अवस्थामा क्रमश सुधार हुंदै गएको उल्लेख गर्दै अभिनेत्री लुम्लेले महिलाले हरेक अवसरहरु सिक्दै जानुपर्नेमा जोड दिइन् ।

‘हामीहरुले जति बढि सिक्न सक्छौं, त्यति नै धेरै समस्याहरु बुझ्न र समाधान गर्न सक्षम हुन्छौं, त्यसैले सकेसम्म हरेक अवसरहरु सिक्दै जानु निकै महत्वपुर्ण छ’, लुम्लेले भनिन् ।

आफ्ना बाबु गोर्खा राइफल्समा कार्यरत रहंदा आफु भारतको काश्मिरमा जन्मिएको प्रसंगदेखि बाबुसंगै हंककंग, मलायासम्म पुगेको, गोर्खाहरुसंग भेटेको र उनीहरुसंग कसरी घनिष्ठ सम्बन्ध बनेको भन्नेसम्म उनले स्मरण गरिन् । नेपालीहरुको विरताका साथै कला , संस्कृति र खानाबाट समेत आफु निकै प्रभावित रहकेको उनले बताइन् । भूतपूर्व गोर्खाहरुलाई भउको ऐतिहासिक अन्यायको अन्त्य गर्दै न्याय दिलाउने क्रममा आफुले पनि सानो भुमिका गर्न पाएको भन्दै उनले खुशी व्यक्त गरिन् ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले पछिल्लो समय नेपालमा सामाजिक र राजनीतिक रुपमा समेत महिला सबलीकरण भएको उल्लेख गरे । बेलायतका समस्त नेपाली महिलाहरुबीच घुलमिल तथा सद्भाव बढाउने उद्धेश्यका साथ हरेक वर्ष तीज र नारी दिवस गरी दुई पटक दूतावासमा महिलाहरुकै लागि कार्यक्रम गरिदै आएको उनले बताए ।

दूतावास बेलायतका सम्पुर्ण नेपालीहरुको घर रहेको भन्दै राजदूत डा सुवेदीले सम्पुर्ण नेपाली महिलाहरुको लागि दूतावासलाई माइतिघर बनाउने आफ्नो चाहना रहेको बताए ।

कार्यक्रममा राजदूत पत्नी पुनम राज्यलक्ष्मी सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । गायिका मिरा राणाले दुई वटा गीत प्रस्तुत गरिन् ।

सो अवसरमा केहि कलाकारले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तयमा पूर्व पश्चिम रेल बोलको गीतमा सहभागी महिलाहरुसंगै अभिनेत्री जोआना पनि नाचेकी थिइन् ।

तस्बिर : मिलन तमु