१३ बैशाख २०८१, बिहीबार
Follow Us

कवि पराजुलीको लण्डनमा चर्चैैचर्चा, शनिवार कविता कन्सर्ट

sarusaru
२४ फाल्गुन २०७४, बिहीबार ०१:२६

लण्डन । बेलायतमा पहिलोपटक आयोजना हुन लागेको कविता कन्सर्टका लागि कवि नवराज पराजुली लण्डन आइपुगेका छन् । बुधबार बिहान लण्डन उत्रिएका कवि पराजुलीलाई कन्सर्ट आयोजक नेप्लिज ब्रिटिश कम्युनिटी (एनबिसी) यूकेले भव्य स्वागत गरेको छ ।

कवि पराजुलीलाई स्वागत गर्न कविता कन्सर्ट कार्यक्रमका संयोजक रामशरण सिंखडा, एनबिसी यूकेका अध्यक्ष मिलन घिमिरे, पूर्व अध्यक्ष कमलराज खनाल, राजेन्द्र ओझा, बसन्त नेपाल, सञ्जिव घिमिरे लगायतको टोली हिथ्रो विमानस्थल पुगेको थियो ।

कवि पराजुली अबको २ सातासम्म बेलायतमा रहनेछन् ।

यता यहि शनिबार मार्च १० तारिखको सांझ लण्डनको ग्रिनफोर्ड टाउन हलमा आयोजना हुने कविता कन्सर्टको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । आयोजकले ९० प्रतिशत तयारी पूरा भएको बताएका छन् ।

सांझ ६ बजेदेखि राती १० बजेसम्म निर्धारित कार्यक्रममा झण्डै अढाई घण्टा कविता सेसन रहनेछ । जसमा करिब डेढ घण्टा कवि पराजुलीले कविताहरु वाचन गर्नेछन् भने बाँकी समयमा बेलायतका स्रष्टाहरुमध्येबाट चयन हुन सफल केहिले पनि आफ्ना २ र २ वटा सिर्जना सुनाउने मौका पाउनेछन् ।

द्धन्द्धमा बाबुआमा गुमाएका अनाथ बालबालिकााको संरक्षण गरिरहेको सर्लाहीको हरिवनस्थित चेतना सन्देश नेपाललाई सहयोग गर्न कोष जुटाउने उद्धेश्यले यो कविता कन्सर्टको आयोजना हुन लागेको हो ।

कार्यक्रममा टिकट बिक्री तथा स्पोन्सरहरुबाट करिब २४ हजार पाउण्ड संकलन गर्ने र कुल खर्च उठाएर १५ हजार पाउण्डको हाराहारीमा बचत गर्ने लक्ष्य राखिएको आयोजक एनबिसी यूकेका अध्यक्ष मिलन घिमिरेले बताए । यसरी बचत भएको पूरै रकम चेतना सन्देश नेपाललाई पठाइने पनि अध्यक्ष घिमिरेले जानकारी दिए ।

कार्यक्रमका अधिकांश टिकट बिक्री भइसकेका छन् । द्धन्द्धपीडित बालबालिकाको सहयोगका अलावा प्रवासमा नेपाली साहित्यको प्रबद्र्धनको समेत लक्ष्य राखी आयोजना हुन लागेको एक ऐतिहासिक कार्यक्रममा सहभागी हुन बेलायतस्थित नेपालीहरुमा आयोजकले आव्हान गरेका छन् ।