१२ बैशाख २०८१, बुधबार
Follow Us

बसदेखि स्कुल कलेजसम्म ड्रग्स तस्करी

sarusaru
२४ फाल्गुन २०७४, बिहीबार ०१:५७

महानगरीय प्रहरी वृत्त जनसेवामा केही दिनअगाडि काठमाडौंमा ड्रग्स तस्करी गर्ने एक गिरोहबारे सूचना आयो । जनसेवामा आएको सूचनाबाट प्रहरीले विभिन्न जिल्लाका नाका भएर काठमाडौंमा ड्रग्स (लागू औषध) तस्करी गर्ने गिरोह काठमाडौंको न्यूरोड, जैसिदेवल, महाबौद्ध, असन लगायत क्षेत्रमा बस्ने गरेको जानकारी प्राप्त गर्‍यो ।

सोही सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवा र मातहतका प्रभावको टोलीले विभिन्न ठाउँमा एम्बुस राखेर चेकजाँच बढायो । चेकजाँचका क्रममा काठमाडौंको जैसीदेवल र परोपकार पुलबाट ३ जना पक्राउ परे ।

सवारीसाधनमा प्रयोग हुने ग्रिसका बाल्टी बोकेका उनीहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा ठूलो परिमाणमा लागू औषध फेला पर्‍यो । महानगरीय प्रहरी वृत्त जनसेवाको प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) टेकुन्नद इवा लिम्बूका अनुसार पक्राउ परेकाहरू काठमाडौंलाई आधार बनाएर लागुऔषध कारोबार गर्ने ‘ठूला व्यापारी’ हुन् ।

पक्राउ परेका नेपाली नागरिकमा नुवाकोटको तलाखु घर भएका २५ वर्षीय सुनिल घिमिरे र बाराको गढीमाइ–९ घर भएका ३३ वर्षी विगु रायभर छन् । पक्राउ परेका भारतीय नागरिकमा बिहार राज्यअन्तर्गतको दरभंगा घर भएका महम्मद रीयाजुदिन छन् ।

सार्वजनिक बसमा ड्रग्स तस्करी

प्रहरीले तीनजनाबाट डाइजाल्याप, नुफिन, फेनारागन, ५ हजार ४ सय ९ थान, ११ प्याकेट गाँजा चिपड (पोल्याड) गाँजा पेल्न होत मेसिनसहित केही नगद र ल्यापटप बरामद गरेको छ । प्रहरीले उनीहरुबाट २ वटा बसका टिकटसमेत बरामद गरेको छ ।

बसको टिकमा नाम उल्लेख छैन । तर २ जना व्यक्तिले फागुन २१ गते वीरगन्जबाट काठमाडौंको यात्रा गरेको उल्लेख छ । अर्को टिकट माघ १५ गतेको छ । उक्त टिकट वीरगन्जदेखि बनेपाका लागि काटिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल पक्राउ परेका तीनजनाले सार्वजनिक बसबाट काठमाडौंमा लागुऔषध भित्र्याएको बताउँछन् ।

‘भारतीय नाकाबाट सवारीसाधनमा प्रयोग हुने ग्रिसको बट्टाभित्र ड्रग्सका एम्पुल राखेर नेपाल भित्र्याइ काठमाडौं पुर्‍याइएको देखियो,’ एसएसपी पोखरेलले भने, ‘भन्सारबाट आयात भएको बिल बनाएर सार्वजनिक बसबाटै काठमाडौंसम्म पुर्‍याउँदा रहेछन् ।’

उनीहरु ड्रग्स एक बसमा पठाएर आफू अर्कै बसमा काठमाडौं आउने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले बरामद गरेको लागू औषध भारतीय नाका राक्सौलबाट नेपाल भित्रिएको अनुसन्धानबाट खुलेको छ । ‘भारतबाट वीरगन्जसम्म पुर्‍याउन र वीरगन्जबाट काठमाडौं ल्याउन छुट्टा–छुट्टै प्रविधि अपनाइने गरिएको देखियो,’ एसएसपी पोखरेलले भने, ‘वीरगन्ज काठमाडौं पुर्‍याउन ड्रग्स एक बसमा पठाएर उनीहरु आफूचाहिँ त्यसपछिको दोस्रो बसमा आउने गरेका रहेछन् ।’

काठमाडौंका स्कूलदेखि कलेजसम्म तस्करको जालो

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी पोखरेल पछिल्लो समय काठमाडौंका स्कूल र कलेजका विद्यार्थीहरुमा लागू औषधको कुलत बढेको गुनासो आइरहेको बताउँछन् । र त्यसको सम्बन्ध मंगलवार पक्राउ परेका लागू औषध कारोबारीसँग जोडिएको उनले बताए ।

‘लागूऔषध कारोबारीहरुले स्कूलदेखि कलेजसम्मै आफ्नो सञ्जाल विस्तार गरेको देखिन्छ,’ एसएसपी पोखरेलले भने, ‘पक्राउ परेकाहरूले बयानमा पनि यहाँ आफ्ना एजेन्ट र सब–डिलर भएको बताएका छन् ।’

महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी लिम्बुले काठमाडौंमा ड्रग्स तस्करी गर्ने डिलरहरु सक्रिय रहेको बताए ।

‘भारतबाट नेपाली भित्र्याएर काठमाडौं पुर्‍याउने र काठमाडौंमा वितरण गर्ने छुट्टा–छुट्टै गिरोह छन्,’ डिएसपी लिम्बुले भने, ‘भारतबाट नेपाल भित्र्याएको ड्रग्स काठमाडौं पुर्याउने व्यक्तिले एक लटमा २० देखि ३० हजार रुपैयाँ कमाउने रहेछन् । यस्ता धेरै व्यक्ति तस्करीमा संलग्न हुन सक्छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।’

प्रहरीले मंगलवार बरामद गरेको ड्रग्सको बजारमूल्य २३ लाख नेपाली रुपैयाँ हुन्छ । तस्करहरुले ३ एम्पुल (थान)को १ सेट बनाएर बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

‘मुख्य तस्करले १ सेटको १ हजार ५ सयदेखि २ हजार रुपैयाँ लिएर बिक्री गर्दोरहेछ,’ डीएसपी लिम्बुले भने, ‘काठमाडौंका सब–डिलरहरुले भने व्यक्ति हेरेर १ सेटको ३ हजारभन्दा माथिको दरले विक्री गर्दा रहेछन् ।