१२ बैशाख २०८१, बुधबार
Follow Us

भूतपूर्व सैनिकलाई चार वर्षमा सात अर्ब लगानी

नेपालब्रिटेन संवाददाता
२४ फाल्गुन २०७४, बिहीबार ०८:५८

काठमाडौं । नेपाली सेना कल्याणकारी बोर्डको संयोजनमा नेपाल इन्भेस्टमेन्ट बैंकले आगामी चार वर्षमा थप ४० हजार भूपूसैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका सैनिकका परिवारको जीवनस्तर उकास्ने लघुवित्त कार्यक्रमका लागि बिनाधितो रु सात अर्ब लगानी गर्ने भएको छ ।

उक्त बैंकले गएको चार वर्षमा २१ हजार १६१ भूतपूर्व सैनिकलाई लघुवित्त व्यवसायका लागि बिनाधितो ४ दशमलव ५ प्रतिशत सहुलीय ब्याजदरमा रु तीन अर्ब ५० करोड ५४ लाख कर्जा लगानी गरिसकेको नेपाल इन्भेस्टमेन्ट बैंकका कार्यकारी प्रमुख ज्योति पाण्डे जानकारी दिनुभयो ।

भूपू सैनिकको जीवनस्तरमा सुधार ल्याउन नेपाली सेनाको प्रस्तावमा बैंकले २०७० माघबाट भूपूसैनिक सम्मेलनकै अवसर पारेर सेवामूलक कार्यक्रमअन्तर्गत सहुलीयत ब्याजदरमा लगानी अघि बढाएको हो । मुलुकमा हाल भूपूसैनिक ५५ हजार ९६९ तथा पारिवारिक निवृत्तिभरणमा रहेकाको संख्या १२ हजार ४१७ रहेको कल्याणकारी बोर्डले जनाएको छ ।

बैंकबाट ऋण लिएर व्यवसाय शुरु गरेका भूपूसैनिकले छोटो अवधिमा पर्याप्त आम्दानी लिन सफल भएपछि बैंकले लघुवित्तको लगानीमा ह्वात्तै वृद्धि गरेको हो । समयको हेक्का र अनुशासनभित्र रही जिम्मेवारी निर्वाह गर्ने भूपूसैनिकले बंैकको ऋणबाट भौगोलिक धरातल र बजारको मागका आधारमा व्यवसाय सञ्चालन गर्दै आएका कारण छोटो समयमा उदाहरणीय प्रगति हासिल गर्न सफल भएकोे सेनाको ठम्याइ छ ।

नेपाली सेनाले हिताधिकारीको आवश्यकता र मागलाई ध्यानमा राखेर भूपू सैनिक सम्मेलन वा अरू कुनै कार्यक्रममार्फत कल्याणकारी बोर्डबाट प्रदान गर्ने सबै कार्यक्रम घरदैलोमै पु¥याउने प्रयास गरिरहेको कल्याणकारी बोर्डका कार्यकारी प्रमुख अधिकृत पदमविलाश कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जीवनको ऊर्जावान् महत्वपूर्ण समय संगठन र मुलुकको खातिर समर्पण गरेका भूपू सैनिकको जीवन शैलीमा सुधार गरी परिवर्तन ल्याउन सकियोस् भने भनेर शुरु गरिएको कार्यक्रमबाट निकै राम्रो नतिजा प्राप्त भइरहेको छ, ऋणीले व्यवसाय बढाउँदै लगेका छन्, कार्यक्रम ज्यादै सफल भएको छ ।”

लघु व्यवसाय सञ्चालन गर्न चाहने महिला उद्यमीलाई रु पाँच लाख तथा पुरुषलाई रु चार लाखसम्म बैंकले कर्जा प्रवाह गर्नेछ । कृषि तथा पशुजन्य कार्यक्रम रहेका सहकारीमार्फत व्यवसाय सञ्चालन गर्न चाहेमा त्यस्ता समूहमा आउने उद्यमीलाई बंैकले रु एक करोडसम्म लगानी गर्ने जनाएको छ ।

बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिएर भूपू एवम् आश्रित परिवारले खासगरी अम्रिसो र अलैँची खेती तथा बंगुरपालन, भैँसीपालन, गाईपालन, बाख्रापालन, मौरीपालन, माछापालन तथा किराना पसल र होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

– नारायण न्यौपाने