१२ बैशाख २०८१, बुधबार
Follow Us

काँग्रेसका सांसदहरु पनि गाउँपालिका बढाउने पक्षमा

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७३, मंगलवार १५:४९

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलले पनि गाउँपालिकाको सङ्ख्या बढाउनुपर्ने निचोड निकालेको छ । दलको आज बसेको बैठकमा बोल्ने सबैजसो सांसदले स्थानीय तहको सङ्ख्या बढाउनुपर्नेमा जोड दिएको संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

हरेक जिल्लामा रहेको अहिलेको इलाकालाई नै गाउँपालिकाका रुपमा रुपान्तरण गर्दा सीमाङ्कन, सदरमुकाम, सेवा केन्द्रलगायतका विषयमा विवाद नहुने अधिकांशको तर्क रहेको उहाँले बताउनुभयो । “अहिले देशभरिमा ९२७ ओटा इलाका रहेकामा गाविस मात्रै रहेका इलाका झन्डै ८०० हुने भएकाले यो नै व्यावहारिक देखिन्छ,” उहाँले भन्नुभयो ।

बैठकको सुरुमा स्थानीय तहको सीमा निर्धारण गर्न गठित आयोगका प्रमुख बालचन्द्र पौडेलले सीमा निर्धारणका बारेमा जानकारी गराउनुभएको थियो भने उहाँसँग सांसदले अन्तरक्रिया पनि गर्नुभएको थियो ।

सांसद तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले झन्डै एक हजारको हाराहारीमा गाउँपालिका बनाउन सुझाव दिइएको बताउनुभयो । थोरै गाउँपालिका बनाउँदा जनताको पहुँच नपुग्ने भएकाले गाउँपालिका धेरै बनाउनुपर्ने भण्डारीको भनाइ छ ।

“जनताले पाउने सेवा सुविधा घर नजिकै पु¥याउनका लागि गाउँपालिकाको अवधारणा ल्याइएको हो, तर गाउँपालिका थोरै हँुदा अहिले पाइरहेको सेवा सुविधा अझ टाढा जाने भएकाले गाउँपालिका बढाउनु परेको हो,” सांसद तथा पार्टीका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले भन्नुभयो ।

उहाँले गाउँपालिकाको सङ्ख्या के कति बनाउनु पर्ला भन्ने बारेमा सांसदलाई प्रदेशअनुसार सात समूहमा विभाजन गरेर छलफल गराइएको जानकारी दिनुभयो । “समूह समूह बनाएर गराइएको छलफलबाट पनि गाउँपालिकाको सङ्ख्या बढाउनुपर्ने निष्कर्ष निकालिएको छ”, उहाँले भन्नुभयो । सबै समूहको निचोड पार्टीलाई बुझाइएको छ ।

यसअघि काँग्रेसका जिल्ला सभापतिको भेलाले पनि गाउँपालिकाको सङ्ख्या बढाउनुपर्ने निष्कर्ष निकालेको थियो ।