४ बैशाख २०८१, मंगलवार
Follow Us

उद्योग व्यवसायीलाई धम्क्याई २ करोड माग्ने ६ जना समातिए

sarusaru
२५ फाल्गुन २०७४, शुक्रबार ०१:५७

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज र कोहलपुरका उद्योगी व्यवसायीलाई फोन तथा एसएमएस गरेर धम्की दिँदै करिब २ करोड रुपैयाँ माग्ने ६ जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले बिगत लामो समयदेखि बाँकेको नेपालगन्ज, कोहलपुर र दाङ्गका ब्यापारी उद्योगीहरुलाई फोनबाट धम्काउने कार्यमा सक्रिय रहेका ६ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।

गत फागुन १० गतेदेखि अपरिचित नम्बरबाट फोन गरी व्यवसायीलाई रकम नदिए धम्याउँदै आएका छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बाँके जिल्ला प्रहरी उपरीक्षक तामाङले बताए ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरुको समूहलाई नियन्त्रणमा लिन सफल भएको जानकारी दिएको हो ।

अनाधिकृत नम्बरबाट फोन र एसएमएस गरी माग गरे अनुसारको रकम नदिएमा व्यवसायीको घर परिवार उडाउने धम्की दिँदै आएका थिए ।

प्रहरी प्रमुख तामाङले ६ जनाको समूहले १० जना व्यवसायीलाई धम्याउँदै करिब दुई करोड रकम माग गरेका बताए ।

व्यवसायीको मौखिक उजुरीपछि प्रहरीले दुई हप्तासम्म अनुसन्धान गरी बुधबार नेपालगन्जको घरबारीटोलमा रहेको एक होटलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुख्य योजनाकार सुर्खेत लेखगाउँ १ का ३२ वर्षीय बिजयबिक्रम शाह, बाँके राप्ती सोनारी-५ का घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका ४ बस्ने ३२ वर्षीया केशराज भण्डारी, चितवनको भरतपुर उपमानगरपालिका-६ का १८ वर्षीय विष्णु तिमिल्सिना र १८ वर्षीय कुशल श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका-८ का ५६ वर्षीय राजु भन्ने अस्फाख सिद्धिकि र बाँकेको कोहलपुर नगरपालिका-१२ का ४० वर्षीय रमेशप्रसाद अधिकारी रहेका छन् ।

प्रहरीले बुधबार तीन जनालाई भरीपूर्ण गेष्ट हाउसबाट पक्राउ गरेको र बाँकी तीन जनालाई उनीहरुको बयानपछि फरक-फरक ठाउँबाट नियन्त्रणमा लिन सफल भएको छ ।

प्रहरीका अनुसार उनीहरुले मुख्य रुपमा चार जना व्यवसायीहरुसँग भारी मात्रामा रकम माग गरेका थिए । चार जना व्यवसायीलाई फोनमार्फत धम्याउँदै जम्मा एक करोड ८८ लाख रुपैयाँ माग गरेका थिए ।

उनर पैसा माग्ने गरेको गुनासो आएपछि संघीय इकाइ प्रहरी कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले नेपालगन्जको एक होटलबाट समातिएको जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङ्गले बताए ।
– अनलाइन खबरबाट ।