काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारीको सूचना दर्ता हुनेछ ।

सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सभामुखको उम्मेदवारी दर्ता गराइनेछ । सत्तारुढ वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) ले सो पदमा उम्मेदवारी दिने तयारी गरेको छ भने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले उम्मेदवारी दिनेबारे निर्णय गरिसकेको छैन ।

यही फागुन २२ गते बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले सभामुखको निर्वाचनको मिति तय गरेको थियो । हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्दै आउनुभएको छ ।

महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय
नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभाको सभामुख पदका लागि नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरालाई सत्तारुढ वाम गठबन्धनको समर्थन हुनेछ ।
संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी दर्ता हुँदैछ ।