१३ बैशाख २०८१, बिहीबार
Follow Us

बलत्कृत बालिकाबारे गृहमन्त्री थापाको चासो

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७४, शुक्रबार १२:५७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले गत हप्ता पर्सामा बलात्कारमा परेकी एक बालिकाको स्वास्थ्यावस्थाबारे आज जानकारी लिनुभएको छ । मन्त्री थापाले बालिका उपचाररत राजधानीको ग्रिनसिटी अस्पतालमा पुगी स्वास्थ्यावस्थाबारे जानकारी लिँदै घटनामा संलग्न अपराधीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गृहमन्त्रीले बालिकाको उपचारमा कुनै कमी नगर्न आग्रह गर्दै उनको उपचारमा सरकारबाट सहयोग हुने आश्वासन दिनुभयो ।

गृहमन्त्रीले बलात्कारका घटना दोहोरिन नदिन मन्त्रालयले सुरक्षा निकायलाई विशेष पहल गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । बलात्कारजस्तो जघन्य अपराधका घटनामा संलग्नलाई गरिने कारवाहीको दायरा अझ बढाउन आवश्यक रहेको बताउँदै अपराधीलाई चोख्याउन खोज्नेलाई पनि कारवाहीको दायरामा ल्याइने चेतावनी दिनुभयो ।

गत हप्ता बलात्कृत ती बालिकालाई गत आइतबार ल्याएर सो अस्पतालमा उपचारमा राखिएको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ । घटनामा अन्यको संलग्नताबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आफूहरुले मानवीयताका आधारमा पीडित बालिकाको निःशुल्क उपचार गरिरहेको जानकारी दिनुभयो । बलात्कारका कारण बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेकामा उपचारपछि क्रमिक सुधार हुँदै आएको उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ ।