६ चैत्र २०८०, मंगलवार
Follow Us

बेलायती नेपालीको बड़ो रोचक जीवन

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०७४, शनिबार ०८:२१

नारायण गाउँले
सामान्यतः उस्तै वर्गको बेलायतीले जिउने जीवन र नेपालीको जीवनमा धेरै फ़रक छ । बेलायतमा झन्डै ४०% नागरिकसँग आफ्नो घर छैन । धेरै कामकाजी बेलायतीहरू किस्ताबन्दीमा पाइने घरको १०% डिपोजिट रकम पनि जम्मा गर्न सक्दैनन् । तर दश वर्ष बेलायत बस्ने नेपालीसँग प्रायः आफ्नै घर हुन्छ । जबकि उक्त दश वर्षभित्र उसले आम बेलायतीले भन्दा दशौं हजार पाउण्ड भिसा र अन्य कागजपत्रमा खर्च गर्नुपर्छ । उसले कमाइको केही अंश नेपाल पनि पठाउँछ ।

नेपालीहरू शान र मानका ठूलै शौखिन पनि छन् । त्यसका निम्ति गच्छेभन्दा बढ़ी लगानी गर्ने पनि भेटिन्छन् । समान स्तरको बेलायतीले जीवनमा दुई चार च्यारिटी गर्दो रहेछ, तर नेपालीले सरदर हप्तामैं दुई चार वटा च्यारिटी भ्याउनुपर्छ । पाँच-दश पाउण्ड च्यारिटी भनेको एउटा बेलायतीका निम्ति ठूलो हो, तर नेपालीले २० भन्दा तल पैसा नै नगन्ने अवस्था छ । १०० भनेको केही होइनजस्तो भइसक्यो । चट्ट दुईचार जनाको अगाडि उभिएर लगाउन पाइने पहेँलो खादा र भोलिपल्ट फेसबुकमा पाइने दुईचार लाइकले १०० पाउण्ड कमाउँदाको दुःखकष्ट एक छिन बिर्साउने रहेछ । यसमा उदार र कोमल मन त पक्कै छ तर प्रतिष्पर्धाको भूमिका पनि निरन्तर बढ्दै छ ।

संस्थामा बसेको बेलायती र कुनै संस्थामा नबसेको नेपाली भेटाउन मुश्किल छ । कुनै संस्थामा केही बन्न सकिएन भने पनि सल्लाहकारसम्म भए पनि बन्ने दाउमा जीवन बित्छ । बनाउनेले पनि सल्लाह होइन, भोलि अलिकति पैसो झर्च कि भन्ने आशा राखेको हुन्छ । हरेक हप्ता एउटा नयाँ संस्था जन्मिनु सामान्य खबर हो । बेलायतका कुल राजनैतिक पार्टीभन्दा नेपाली दलका शाखाप्रशाखा बेलायतमा धेरै छन् ।

बेलायतीहरू सरदर प्रतिहप्ता ३७.५ घण्टा काम गर्छन् र पनि जीवन काममा बितेको गुनासो गर्छन् । ५० घण्टाको काम कम भएर थप ‘पार्ट टाइम’ कामको खोजिमा रहेको नेपाली भने मुस्कुराई रहेको हुन्छ । उसले साथीभाइ भेट्न, खान-खुवाउन र दुई तीनवटा नेपाली कार्यक्रममा जान पनि भ्याएकै हुन्छ । पहिलो पुस्ता भएकाले होला, कामबाहेक बाँकी बच्ने समय भने ‘नेपाल’बारे नै सोचेर, बोलेर, पढेर र चिन्तन गरेर बितेको हुन्छ ।

समान आय भएको बेलायतीभन्दा नेपालीको मोबाइल नयाँ र ब्राण्डेड हुन्छ । चढ्ने गाड़ी ठूलो र महँगो हुन्छ । खानपिन र रहनसहन पनि माथिल्लै हुन्छ । राजनैतिक चेत त दशौ हजार माथि हुन्छ । नेपालको प्रधानमन्त्रीलाई नभेटेको र नचिनेको त को नै बाँकी होला र यतैका मन्त्रीसँग सेल्फी टाँस्ने पनि धेरै नै छन् । म के छु भन्ने भन्दा पनि नेपालमा के थिएँ भन्ने धाक र रबाफले जिन्दगी तान्नेहरू यत्रतत्र छन् । म त नेपालमा जेल परेको नेता, त्यताको पुलिस, पत्रकार, अभिनेता, गायक आदि आदि भनेर यता मान खोज्ने र सङ्गठन गर्ने त कति कति । हरेक नेपालीसँग नेपाल कसरी बनाउने भन्ने ज्ञान र चेत त सामान्य भयो, विश्व कसरी हाँक्ने भन्ने सोधेर हातमा माइक दिनुभयो भने तीनघण्टा धाराप्रवाह बोल्ने क्षमता हुन्छ । विश्वले नेपालीको यस्तो अद्भुत क्षमताको कदर कहिले गर्ला ?

जति धेरै सोच्यो, त्यति भव्य लाग्छन्, मलाई नेपालीहरू । र, त्यसभित्र म आफै पनि छु ।
जय नेपाल !