७ बैशाख २०८१, शुक्रबार
Follow Us

साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे

नेपालब्रिटेन डट कम्
८ भाद्र २०७३, बुधबार ०५:२७

साउदी अरब- वैदेशिक रोजगारका क्रममा साउदी अरबमा रहेका नेवारहरुले अन्य जाती र समुदायका मानिसहरुका साथमा क्वाटीपूर्णे मनाएका छन् । जुबैलस्थित न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्टमा नेवाः समाज साउदी अरबले क्वाटी सहित समयबजी र बाराको भोजको आयोजना गरेर मनाएका हुन ।

साउदी अरबमा पहिलो पटक क्वाटीपूर्णे मनाएका उनीहरुले नेपालमा जस्तै मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडी नौ थरी गेडागुडीलाई भिजाई टुसा उमारेर क्वाटी बनाएका थिए । क्वाटीलाई आवश्यक पर्ने मसलाहरु लगाउनुका साथै ज्वाँनो, मेथी र कालो जिरा फुराएर घिऊले झानेर स्वादिष्ट क्वाटीको भोज खुवाएका थिए ।

त्यसैगरी सिद्रा, अदुवा, भट्मास, अण्डा, लहसुन, च्यूरा लगायतको समिश्रण गरिएको समयबजी र कालो दालको बारा समेत भोजका रुपमा पस्किएका थिए । शुक्रबारका दिन आयोजित उक्त क्वाटी भोजका अवसरमा समाजले रेष्टुरेण्टमा आएका सम्पूर्ण नेपालीहरुलाई क्वाटीले स्वागत गरेको थियो । सो भोजका अवसरमा समाजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले क्वाटीपूर्णेको पौराणिक पक्ष र महत्वका बारेमा जानकारी दिएका थिए । समाज अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख सल्लाहकार जेश कुमार श्रेष्ठले सामाजिक सद्भभाबको प्रतीक स्वरुप पहिलो बटुको क्वाटी बाल कृष्ण पङेनीलाई प्रदान गरेर क्वाटी भाेजकाे प्रारम्भ गरिएको थियो ।

क्वाटी भाेजकाे संयाेजन अकल प्रधान, तेजुकुमार श्रेष्ठ र सुकुचन शाक्यकाे टाेलीले गरेको थियो । समयबजी र बारा कृष्ण श्रेष्ठ, सुर्य श्रेष्ठ र रोशन एन श्रेष्ठले तयार गरेका थिए । समाजले यसअघि योमरी पुन्ही समेत मनाईएको थियाे ।

कार्यक्रममा नेपाली साझा मंच, एनआरएनए लगायतका सामाजिक संघसंस्थाका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । क्वाटी भाेजमा सहभागिहरुले नेपालमै भाेज खाए जस्ताे महशुस भएकाे अनुभुति व्यक्त गरेका थिए ।