६ बैशाख २०८१, बिहीबार
Follow Us

राधा चौधरी कुटपिटका आरोपीहरु धमाधम पक्राउ

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०७४, आईतवार ०९:३३

कैलाली । बोक्सीको आरोपमा कुटपिटपछि घाईते भई उपचारमा रहेकी राधा चौधरीको विषयलाई लिएर मुलुकको ध्यान केन्द्रित भएको छ । यता कुटपिटमा संलग्न भोलेबाबा रामबहादुर चौधरीसहित अन्य दुई युवतीलाई पक्राउ गरी अनुसन्धान पक्रिया अघि बढाइएको छ । ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब निरीक्षक दिनेश विष्टलाई निलम्बन गरिएको छ ।
उपचाररत चौधरीको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा हुँदै गर्दा उनको उपचारलाई लिएर प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले चासो देखाएका छन् । चौधरीलाई भर्ना गरेको दुई दिन पछि अस्पतालमा पुग्नु भएका मुख्यमन्त्री भट्टले चौधरीको उपचारको विषयमा चिकित्सकसंग जानकारी लिएका छन् । मुख्यमन्त्री भट्टले चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले दोषीलाई कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै समाजमा यस्ता घटना हुन नदिन जनचेतना फैलाउने कार्य गर्ने समेत बताए।
त्यस्तै प्रदेश ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारी समेत अस्पताल पुगेर विरामीको अवस्थाका बारेमा चिकित्सकसंग सोधपुछ गर्नु भएको छ । कुटपिटबाट घाईते राधा चौधरीको अहिले सेती अञ्चल अस्पतालको सर्जिकल वार्डमा राखेर उपचार भैरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र बस्नेतले घाईते चौधरीको आँखा र शरीरभरी निलडाम रहेको जानकारी दिए । यसैबीच कैलालीको घोडाघाडी नगरपालिका ५ देउकलीमा गत बिहीबार राधा चौधरीलाई बोक्सीको आरोपमा बाबासंगै कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँकी २० वर्षीया किस्मति चौधरी र स्मारिका चौधरी रहेको ईलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ । पक्राउ परेकी चौधरीद्वयलाई जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलाली निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहरालाई जानकारी दिनुभयो । यस अघि नै पक्राउ परेका रामबहादुर चौधरीसहित किस्मती चौधरी र स्मारिका चौधरीलाई जिल्ला अदालतबाट म्याद थप गराई अनसुन्धान कार्य अघि बढाउने प्रहरीले जनाएको छ ।