१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनमा भव्य कविता कन्सर्ट, सुनिए कवि नवराज पराजुली

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०७४, आईतवार १४:२२

कविताको पनि एउटा भव्य र सभ्य कन्सर्ट हुन्छ भन्ने बेलायतबासी नेपालीले पहिलोपल्ट अनुभव गरे । आधुनिक नेपाली कविताका युवा ढुकढुकी कवि नवराज पराजुलीले शनिबार लण्डनमा आयोजित कविता कन्सर्टमा आफ्नो प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाए ।

बेलायतवासी नेपालीहरूको परोपकारी संस्था एनबीसी युकेले आयोजना गरेको लण्डन कविता कन्सर्टमा कवि पराजुली मुख्य आकर्षण रहे । कार्यक्रमलाई एनआरएनए, युकेले भाषासाहित्य विभागमार्फ़त सहआयोजकका रूपमा सहयोग गरेको थियो । ग्रीनफोर्ड स्थित टाउन हलमा आयोजित कन्सर्टमा ५० पाउण्डको टिकट काटेर दुई सय पचास जना दर्शक उपस्थित थिए ।

कवि पराजुलीले देशको आर्थिक सामाजिक दुरवस्थादेखि द्वन्द्व तथा प्रेमदेखि यौनमनोविज्ञानसम्मका बहुआयामिक विषयमा चोटिला कविताहरू सुनाइरहँदा दर्शक दीर्घामा अभूतपूर्व शान्तिको वातावरण थियो । धेरैका आँखा बेला बेला रसिला पनि देखिए ।

नेपाली डायस्पोरा, बेलायतका चर्चित अभियन्ता रामशरण सिंखडाले संयोजन गरेको कविता कन्सर्टमा एनआरएनए, भाषासाहित्य विभागका संयोजक एवं कवि नारायण गाउँले, प्रसिद्ध गीत एवं गजलकार नृपेश उप्रेती, छन्द कवि फडीन्द्र भट्टराई तथा कविहरू जगत नवोदित, मन्जु भण्डारी र रमेश कायस्थले आआफ्नो रचना प्रस्तुत गरेका थिए ।

परोपकार र भाषासाहित्यको संयोजनका रूपमा हेरिएको उक्त कन्सर्टबाट सङ्कलित रकम सर्लाहीस्थित शान्ति समाज नामक संस्थालाई प्रदान गरिनेछ । उक्त संस्थाले द्वन्द्वपीड़ित बालबालिकालाई शिक्षा र आश्रय प्रदान गर्दै आएको छ । यसअघि एनआरएनए युकेले पनि करिब १० लाख रुपियाँ उक्त संस्थालाई सहयोग गरिसकेको छ । कविता कन्सर्टबाट झन्डै १६ लाख रुपियाँ बचेको र संस्थालाई सहयोग गर्न सकिने प्रारम्भिक अनुमान छ ।

स्थानीय सर्जकका रचनादेखि कार्यक्रमको चुस्त र भव्य व्यवस्थापनसम्म सबैले दर्शकको मन जितेको उक्त कार्यक्रमको केन्द्रमा रहे बेलायतका निम्ति नेपाली राजदूत दुर्गा बहादुर सुवेदी । कार्यक्रमको एकमात्र वक्ताका रूपमा मञ्चमा बोलाइएका राजदूतले सबैलाई अचम्म पार्दै नेपाली भाषाको उत्पत्तिदेखिको झन्डै सात सय वर्षको इतिहासलाई धाराप्रवाह रूपमा प्रस्तुत गर्दै जब अन्तिममा नवराज पराजुलीलाई जोड़े, दर्शक दीर्घामा तालीको गड़गड़ाहट गुन्जियो । आफै पनि स्थापित कवि र साहित्यिक अभियन्ता रहेका उनले यसक्रममा भानुभक्तदेखि लेखनाथ र देवकोटादेखि भूपि शेरचनका कविता अंशहरूले धेरै पटक दर्शकलाई ताली बजाउन बाध्य बनाए । शायद कवि पराजुलीका लागि पनि त्यो जीवनकै सबैभन्दा ठूलो उपहार रह्यो ।

कार्यक्रमको अन्त्यमा एनआरएनए युके र एनबीसी युके दुबैको संयुक्त रूपमा स्थापना दिवसको जन्मोत्सव-केक काटिएको थियो । एआरएनए युकेका संस्थापक सचिब चिरंजीवी ढकाल, एनसीसी युके अध्यक्ष योग फगामी, महासचिब राजकुमार त्रिपाठी, एनबीसी युकेका संस्थापक संयोजक कमल पौडेल, पूर्व संयोजक कमल खनाल, संयोजक मिलन घिमिरे, सचिब चुरामनि रेग्मीलगायतलाई साक्षी राखेर कवि पराजुलीले केक काटेका थिए ।

कार्यक्रम ऐतिहासिक र अविष्मरणीय रहेको दर्शकको प्रतिक्रिया थियो । खादा, आसन र भाषणरहित विशुद्ध साहित्यिक कार्यक्रमबाट निकै प्रभावित भएका एक दर्शक कृष्ण भट्टले त कविता नै लेखेर खुशी व्यक्त गरेका छन् । अर्का दर्शक प्रकाश गौतमले पनि आफूले कविता नलेख्ने भए पनि कविताको यो कार्यक्रम सफल र सार्थक रहेको जनाएका छन् ।

कार्यक्रमलाई सफल बनाउन संयोजकका रूपमा अहोरात्र खटेका रामशरण सिंखडाले सुरुमा कार्यक्रमको कन्सेप्ट सुनाउँदा धेरैले हलुका रूपमा लिए पनि अन्त्यमा सबैको अथक र अविच्छिन्न सहयोगले गर्दा सफलता प्राप्त भएको र यो नेपाली डायस्पोरा बेलायतका लागि क्रमभङ्गता भएको प्रतिक्रिया दिए । कार्यक्रमको सञ्चालन समीर प्याकुऱ्याल र सिंखडा आफैले गरेका थिए ।

बेलायतमा टिकट काटेर कविता सुन्ने कार्यक्रमको सुरुवात भने अनेसास बेलायत र मुक्तक मञ्च बेलायतले केही वर्षअघि सुरु गरेका थिए । गत महाभूकम्पका बेला लण्डन दूतावासमैं टिकटमा कविता कार्यक्रम गरेर सङ्कलित रकम भूकम्पपीड़ितलाई राहत स्वरूप दूतावासलाई नै प्रदान गरिएको थियो । त्यति बेला टिकट शुल्क १० पाउण्ड राखिएको थियो ।

कार्यक्रम सफल बनाउन एनबीसी युके तथा एनआरएनए युकेका तर्फबाट मिलन घिमिरे, राजकुमार त्रिपाठी, कमल पौडेल, कृष्ण तिमिलसिना, कमल खनाल, चुरामनी रेग्मी, राजेन्द्र ओझा, वसन्त नेपाल, ऋषि खनाल, अञ्जु सिग्देललगायतका सबै सदस्यले लामो समयदेखि योगदान दिएका थिए ।

आयोजक एनबीसी युके र सहआयोजक एनआरएनए, भाषासाहित्य विभागले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुऱ्याउने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।

 

(फोटो साभार : शिव भण्डारी)