१५ चैत्र २०८०, बिहीबार
Follow Us

पत्रकार पनि रमिते बने बोक्सी काण्डमा ; कुटिइन् शिक्षिका पनि ; को थिए राधालाई बचाउने

sarusaru
२८ फाल्गुन २०७४, सोमबार ०३:०९

बोक्सीको आरोपमा राधामाथि भएको कुटपिटबारे खोजतलास गर्दै जाँदा घटनाका अनेकन पहेली बाहिर आउन थालेका छन् ।

राधामाथि कुटपिट भएकै दिन बोक्सीकै आरोपमा एक जना शिक्षिकामाथि समेत कुटपिट भएको तथ्य फेला परेको छ ।

झाँक्री रामबहादुरसँग जोखाना हेराउन एकजना पत्रकारसमेत आफ्नी आमालाई लिएर घटनास्थलमा पुगेको अर्को तथ्य खुलेको छ ।

जब पत्रकार नै जोखाना हेराउन पुगे

कैलालीका बालकृष्ण चौधरी पेशाले इञ्जिनियर हुन् । उनी क्लासिटेकमा काम गर्छन् । उनी इञ्जिनियरका साथसाथै पत्रकार पनि हुन् । उनी थारु भाषाको अनलाइन चलाउँछन्- थारुनके डटकम ।

गत विहीबार इञ्जिनियर/पत्रकार चौधरीकाे घोडाघोडी रेडियोमा कार्यरत अर्का एकजना पत्रकार साथीसँग भेट भयो ।

ती पत्रकार आफ्नी बिरामी आमालाई उपचार गराउनका लागि देउकलियास्थित झाँक्री रामबहादुर चौधरीको घरमा जान लागेका रहेछन् ।

शिवरात्रीदेखि नै देउकलियामा रामबहादुर भोलेबाबाजीमा साक्षात शिव उत्रिएको सुनेपछि आफू आमालाई लिएर जोखाना हेराउन जान लागेको ती पत्रकार मित्रले बालकृष्णलाई बताए । र, उनलाई पनि भोलेबाबा हेर्न जान आग्रह गरे ।

बालकृष्णले रेडियो पत्रकार मित्रको आग्रहलाई टार्न सकेनन् र उनै आमाछोरासँग नगरपालिकाबाट ४/५ किलोमिटर टाढा पर्ने झाँक्री रामबहादुर चौधरीको घरतिर लागे ।

रिपोटिङका लागि नभई बिरामी आमाको उपचार गर्ने र भोलेबाबाको ‘दर्शन’ पनि गर्ने उद्देश्यले पत्रकारहरु रामबहादुरको घरमा पुग्दा त्यहाँ राधा चौधरीमाथि निर्घात कुटपिट भइरहेको थियो । ठूलो भिडले यो दृश्य हेरिरहेको थियो । त्यही दर्शकको भीडमा पत्रकार पनि मिसिए ।

राधामाथि कुटपिट भइरहँदा केही मानिसहरु आ-आफ्नो मोबाइलबाट भिडियो खिचिरहेका थिए । भिडियो खिच्नेलाई देखेपछि झाँक्री रामबहादुर चौधरी भन्थे- ‘म भोलेबाबा शिवजी हुँ, तिमीहरुले खिचेको भिडियो म मोबाइलभित्रै गायव बनाइदिन सक्छु ।’

पत्रकार साथी र उनकी आमासँग जानेक्रममा आफूहरु घटनास्थलमा करिब आधा घण्टाजति बसेर फर्केको बालकृष्ण चौधरीले बताए
हाँ आफूले मोबाइलबाट खिचेको भिडियो बेलुका थारुनके डटकममा अपलोड गरेको उनले जानकारी दिए ।

आफूहरु त्यहाँ पुग्दा राधामाथि कुटपिट भइरहेको र आफूहरु फर्कंदा पनि त्यो जारी नै रहेको चौधरीले बताए ।
बोक्सीको आरोपमा शिक्षिका पनि पिटिइन्

बोक्सीको आरोपमा पिटाइ खाने पीडित शिक्षिका हेमा चौधरी हुन् । उनी स्थानीय सप्तश्री बोर्डिङ स्कुलमा पढाउँछिन्

आपराधिक घटनाको भिडियो खिचेर सार्वजनिक गराउने पत्रकार बालकृष्ण चौधरीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार राधा चौधरीमाथि कुटपिट भएकै दिन एकजना शिक्षिकालाई पनि बोक्सीको आरोपमा रामबहादुर र पार्वती चौधरीले कुटपिट गरेका छन् । झाँक्रीको पिटाइबाट ती शिक्षिकाको मुखमा चोट लागेको छ ।

बोक्सीको आरोपमा पिटाइ खाने पीडित शिक्षिका हेमा चौधरी हुन् । उनी स्थानीय सप्तश्री बोर्डिङ स्कुलमा पढाउँछिन् ।

हेमालाई पार्वती भन्ने कस्मती चौधरीले रामबहादुरको घरमा बोलाएकी थिइन् र तँ बोक्सी होस् भन्दै कुटेर पठाइएको थियो ।

स्थानीयवासी भएका नाताले हेमा र किस्मती चिनजानका दौंतरीजस्तै हुन् ।

गोबर सोहोर्दा घरमा एक्लै

साँझ-बिहान गाउँका घरहशरुको धुरीबाट धुवाँ निस्कन्छ । तर, घोडाघोडी नगरपालिका वडा नं. ५ देउकलियाका जोखन चौधरीको फुसको घरमा भने यतिबेला सुनसान छ । परिवाजनको अस्पतालमै बास छ । चुल्होमा आगो नबलेको चार दिन भइसक्यो ।

मुलुकभरि अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका दिन जोखन चौधरीकी जेठी छोरी १८ वर्षीया राधा चौधरी बिहान घरमा एक्लै थिइन् । उनले बिहान ७ बजेतिर घर आँगन बढारिन् । र, गोठभित्र सोहोर्न पसिन् ।

ठीक त्यहीबेला ५/६ जना महिलाको टोली हल्ला गर्दै गोठमा आयो र राधालाई तानेर लग्यो । उनीहरु कथित झाँक्री रामबहादुर चौधरीले पठाएका महिला थिए । उनीहरुले राधालाई समात्नेबित्तिकै तँ बोक्सी, रण्डी, अरुको रगत चुस्ने भन्दै घिसार्दै रामबहादुरको घरमा लगे, जहाँ उनलाई ७ घण्टासम्म यातना दिइयो ।

जतिखेर राधालाई महिलाहरुले घरबाट उठाए, उनको घरमा बुबाआमा थिएनन् । आमा बहिनीको उपचार गर्न अस्पताल गएकी थिइन्, बुबा काम विशेषले घर बाहिर निस्किएका थिए ।

पीडित राधाले त्यतिबेलाको परिस्थितिबारे जानकारी दिँदै भनिन्-‘मलाई घिसारेर ल्याउँदै गर्दा केही दिनदेखि बिरामी भएकी बहिनीलाई लिएर आमा अस्पताल जानुभएको थियो । बुबा विहानैदेखि घरायसी कामले बाहिर हुनुहुन्थ्यो । घरमा अभिभावक कोही पनि नभएकाले मलाई कब्जा गरेको उनीहरुले देखेनन् ।’

आमालाई पिटेर फर्काइयो, बुबालाई दर्शक बनाइयो

अस्पतालबाट घर फर्केकी आमाले जतिबेला आफ्नी छोरीमाथि कुटपिट भइरहेको थाहा पाइन्, उनी विक्षिप्त हुँदै छोरीलाई भेट्न दौडिइन् । तर, गाउँलेहरुले उनलाई वीच बाटोबाटै लछार पछार गरेर फर्काए, छोरी भएको ठाउँमा पुग्नै दिएनन् ।

आमाको हविगतबारे राधा भन्छिन्- ‘मलाई कुटपिट भइरहेका बेला आमाले थाहा पाएपछि त्यहाँ आउन खोज्दा आमालाई समेत कुटपिट गरेर घर पठाइदिएछन् ।’

छोरीले पिटाइ खाइरहेका बेला राधाका पिता जोखन घटनास्थलसम्म पुगे । तर, उनलाई धम्क्याएर त्यहीँ ‘दर्शकदीर्घा’ मा राखियो ।

राधा भन्छिन्- ‘बुवाले पनि थाहा पाएर त्यहाँ आउँदा केही बोल्न नदिएर त्यहाँ बसाइयो । मलाई कुटपिट भइरहँदा बुवाआमा बचाउ भन्दा रामबहादुरको डरले बुवा पनि बोलन सक्नुभएन । छोरीको चिच्याहट सुनेर रुनुबाहेक बुबासँग पनि केही उपाय भएन । गाउँ भरिका सयौं मान्छे रामबहादुरकै पक्षमा थिए, बुवाले एक्लै के गर्न सक्नु ? किस्मती र रामबहादुरले पिट्दा, घिर्सादा गाउँभरिका मान्छेले खुशी हुँदै ताली बजाउँथे ।’

राधा पूर्वकमलरी, बुबा र दाजु भारत बस्छन्

हाल कक्षा ११ मा पढिरहेकी पीडित राधा चौधरी पूर्वकमलरी हुन् । उनको परिवारमा आमाबुबा, दाजु, भाइ र बहिनीसमेत गरी ६ जना छन् । दाजु केही सुस्त जस्ता छन् ।

दाजु र बुबा रोजगारीको सिलसिलामा प्रायः भारततिर बस्छन् । घरमा जेठी छोरी राधा र उनका भाइबहिनी आमासँग बस्छन् । भाइ १०/११ वर्षका छन्, उनैले आफ्नी दिदी राधालाई ७ घण्टाको यातनापछि झाँक्रीको पञ्जाबाट उम्काएर घर ल्याउन सफल भएका थिए ।

बिरामी अवस्थामा नजिकैको मेडिकलमा उपचारका लगिएकी राधाकी बहिनी आफ्नी दिदीको पिटाइ सुनेर झन् बिरामीजस्ती बनेकी छिन् । उनलाई पनि धनगढी अस्पतालमै उपचारका लागि पुर्‍याइएको छ ।

परिवारका सदस्यले दिएको जानकारी अनुसार बालखैमा अर्काको घरमा बसेर काम गरेकी राधाको परिवार पूर्व कमलरी परिवार हो ।

जोखन चौधरी कमैया पृष्ठभूमिका व्यक्ति हुन् । उनकी श्रीमती फूलकेसरी चौधरीसँगको विवाहपछि जोखन परिवारको दुई विघा जमिन नदीले कटान गरिसकेपछि उनीहरु भूमिहीन भए । राधा लगायत छोराछोरीको हुर्काई दुःखपूर्ण भयो ।

राधाकी आमा फूलकेसरी भन्छिन्- ‘घरमा आर्थिक अवस्था कमजोर भएकाले छोरीलाई स्कुल पठाउन छाडेर मालिकको घरमा कमलहरी बस्न पठायौं । राधा ६ वर्षकी भएपछि दुई वर्षसम्म धनगढीको शिवनगरमा विष्ट थरको मालिकको घरमा कमलहरी बसिन् । एक वर्ष गाउँमै बज्जिर सिंहको घरमा कमलरी बसिन् । र, एक वर्ष आफ्नै मामा सुदिपको घरमा बसिन् ।’

अामा फूलकेसरीले थपिन्- ‘हाम्रो आफ्नो भन्ने कोही पनि छैन, एकदमै गरिब छौं, मजदुरी नगरी खाना लाउन पुग्दैन । जग्गाका नाममा १५ धुर छ । त्यसैमा छाप्रो बनाएर बसेका छौं । हामीलाई गरिब भनेर हेला गरिएको हो ।’

सरकारले ०५७ साल असार १३ गते तराईका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित कमलरीलाई मुक्त गर्ने निर्णय गरेको थियो । लगत्तै साउन २ गते उनीहरूको मुक्तिको घोषणा गरिएको थियो । घोषणासँगै राज्यले कमलरीहरूको उद्धार, पुनस्र्थापनासँगै शिक्षा, स्वास्थ्य, स्वरोजगारीको व्यवस्था गर्ने नीति तथा कार्यक्रम ल्याएपछि राधा पनि मालिकको घर छोडेर स्कुल भर्ना भइन् ।

कमलहरी प्रथा मुक्तिको घोषणा भएपछि उमेरले ठूली भइसकेकी राधा राष्ट्रिय सेकेन्डरी स्कुलमा एकैपटक कक्षा ४ मा भर्ना भइन् । र, अहिले १८ वर्षकी हुँदा राष्ट्रिय उच्च मावि सुख्खडमा प्लस टुमा अध्यनरत छिन् ।

को थिए ती ‘देवता’ जसले राधालाई बचाए ?

राधामाथि ज्यादती हुँदा रमिते बनेका दर्शकलाई हेरेर पाठकहरुले घोडाघोडी नगरपालिकाको त्यो समाजलाई गाली गरिरहेका छन् । एउटी अवलामाथि भइरहेको मध्ययुगीन व्यवहार देखेर ताली पड्काउने रमिते समाजलाई मानिसहरुले थुक्नु अस्वाभाविक पनि होइन । तर, ‘कालोरातमा देखिएको चाँदीको घेरा’ का विषयमा भने कमैले ध्यान दिएका छन् ।

भगवान शिव र पावर्तीको पवित्र नामलाई नै बदनाम गरेर राक्षसी व्यवहार देखाइरहेका रामबहादुर र पार्वतीका सामु कसैले बोल्न सकिरहेका थिएनन् । यही वीचमा दिउँसो १ बजेतिर केही युवा त्यहाँ आइपुगे । उनीहरुले यस्तो अपराध गर्नेलाई कानुनी कारवाही हुन्छ भन्दै झाँक्री र पार्वतीसँग प्रतिवाद गरे । उनीहरुले रमिते भिडसँग डराएनन् ।

ती युवालाई झाँक्रीले त्रिशुल हानेर मारिदिन्छु भन्दै धम्की दिए । तै पनि उनीहरु पछि हटेनन्. । स्थानीयवासी पनि झाँक्रीकै पक्षमा लाग्दै युवाहरुको प्रतिकार गर्नतिर लागे । तैपनि युवाहरुले प्रतिवाद गरे । यसैक्रममा झाँक्रीको आँगनमा तनाव उत्पन्न भयो । र, यही मौकामा राधालाई उनको १२ वर्षीय भाइले साइकलमा हालेर घरतिर दौडाए ।

आखिर राधालाई त्यो नर्ककुण्डबाट त्राण दिने ‘देवता मन’ भएका ती साहासी युवा को थिए ? राधा भन्छिन्- ‘मैले उहाँहरुलाई चिनेकी छैन, पहिले पनि देखेजस्तो लागेन ।’

त्यसो त राधामाथि बोक्सीको आरोपमा निर्मम कुटपिट भइरहेको खबर धनगढीमा रहेकी उनकी सानीमा सन्ध्या चौधरीकहाँ पुग्यो । थारु चलचित्र क्षेत्रमा काम गर्ने सन्ध्यालाई अपरिचित व्यक्तिले फोन गरेर घटनाबारे जानकारी दिएको थियो ।

खबर पाएलगत्तै सन्ध्या मोटरसाइकलको पछाडि बसेर घटनास्थलमा आइपुगिन् । तर, उनी आइपुग्दा भर्खरै राधा रामबहादुरको आँगनमा भेटिइनन् । उनी भर्खरै घर पुगेकी थिइन् ।

र, उनै सन्ध्याले राधालाई अस्पतालसम्म पुर्‍याइन् । लगत्तै इलाका प्रहरी कार्यालयमा राधाका बुबालाई उजुरी हाल्न पठाइयो ।

सन्ध्याले भनिन्- ‘प्रहरीले राधाका बुबाबाहेक हामी कसैलाई भित्र जान दिएन । अन्ततः त्यहाँभित्र मेयर ममताप्रसाद चौधरीको रोहबरमा राधाका बुवालाई फस्याङ फुस्लुङ पारेर मिलापत्र पो गराइएछ ।’

इलाका प्रहरी कार्यालय सुख्खडमा नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको रोहबरमा राधाका बुबा जोखन चौधरी र झाँक्री रामबहादुरलाई मिलापत्रपत्र गराइयो । मिलापत्रबारे राधालाई कुनै जानकारी थिएन ।

लगत्तै सन्ध्याले थारु पत्रकारलाई फोन गरिन् । थारु पत्रकारले विभिन्न संघ संस्था, मानव अधिकार आयोगसँग सम्पर्क गरे । मुद्दालाई अगाडि बढाउनेबारे दबाव सुरु भयो । र, पीडितलाई धनगढी बोलाइयो ।

पीडित परिवार धनगढी पुगुञ्जेल सामाजिक सञ्जालमा घटनाको भिडियो भाइरल भइसकेको थियो । त्यो भिडियो उनै पत्रकार वालकृष्ण चौधरीले आफ्नो मोबाइलमा सुरक्षित राखेका थिए ।

स्थानीय थारु पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसँग बसेर छलफल गरेपछि मुद्दा अगाडि बढ्यो र मेयरको रोहबरमा छुटेका झाँक्रीलाई पुनः पक्राउ गर्न प्रहरी बाध्य भयो ।

मानव स्वरुपको दानव रुप !

झाँक्री रामबहादुर चौधरीले आफूलाई शिवरात्रीको दिनदेखि नै दैवी शक्ति आएको भन्दै पुरै गाउँकालाई भ्रमित पारेको थियो । आफूले जस्तो सुकैपनि रोगव्याध सञ्चो पारिदिने भनेर हल्ला फिँजाएपछि गाउँलेहरु दान, दक्षिणा भेटी बोकेर उपचार गराउने भन्दै बिहानदेखि साँझसम्म उसको घरमा लाइन लाग्थे । र, यो लाइनमा पत्रकारसमेत आफन्तलाई लिएर पुगे ।

घटना सार्वजनिक भएसँगै इलाका प्रहरी कार्यालय सुखडले भोलेबाबा भनिने रामबहादुरलाई पक्राउ गरेपछि पनि रामबहादुरलाई छुटाउन स्थानीयबासीको भिड इलाका प्रहरी कार्यालयमा पुगेको थियो ।

यी कथित भोलेबाबा भनिने रामबहादुर चौधरी कुनै समयमा साइकलमा भारतीय बजारबाट समान ल्याएर घरघर डुलेर बेच्ने काम गर्थे । अचेल उनले आफूमा दैवी शक्ति प्राप्त भएको भन्दै गाउँमै झारफुक गर्न थालेका थिए ।

प्रदेश संसदमा आवाज

प्रदेश नं. ७ को संसद बैठकमा बोक्सी आरोपमा निर्घाट कुटिएकी किशोरीको पक्षमा आवाज उठेको छ । शनिबार बसेको संसद बैठकमा बोल्दै सांसदहरुले दोषीमाथि कडा कारबाही हुनुपर्ने र निर्दोष कशोरीलाई क्षतिपूर्तिसहित न्याय दिनुपर्ने माग गरेका थिए ।

बैठकको विशेष समयमा सांसद मालामति रानाथारु, पूर्णा जोशी र कुन्ती जोशीले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने र पीडितलाई न्याय दिनुपर्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

यसैबीच आइतबार ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अस्पतालमा पुगेर पीडित राधासँग भेट गरेका छन् । त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, उद्योग पर्यटन तथा वनमन्त्री माया भट्टसहित सांसदहरुको टोलीले पनि पीडित पक्षसँग भेटघाट गरेको छ । उनीहरुले पीडितलाई क्षतिपूर्तिसहित न्याय दिलाएरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।