१५ चैत्र २०८०, बिहीबार
Follow Us

राष्ट्रियसभा अध्यक्षका लागि आज मनोनयन दर्ता

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७४, सोमबार ०५:०५

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि आज मनोनयन दर्ता हुँदै छ। मनोनयन दर्ताका लागि अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। दिउँसो साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभा अध्यक्ष चुन्न निर्वाचन पर्सि हुँदैछ ।
एमाले र माओवादीबीच राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ । सभामुख पद लिएको माओवादीले राष्ट्रियसभा अध्यक्षमा भने एमालेलाई सघाउने छ । सभामुखमा माओवादीका कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् ।
यसैबीच, सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलले भने भोट हाल्न नपाउनु हुने भएको छ । उहाँहरुको शपथअघि नै मतदाताहरुको अन्तिम नामावली सार्वजनिक भइसकेकाले थपघट गर्न नमिल्ने निर्वाचन आयोगको भनाइ छ ।
अदालती विवादका कारण खतिवडा, बिडारी र पौडेलले अस्ति बिहीबारमात्रै शपथ लिनु भएको थियो । मतदाता नामावली एक दिन अघि बुधबारनै प्रकाशित भइसकेको थियो । मतदाता नामावली सम्बन्धी ऐनमा अन्तिम मतदाता नामावलीमा कुनै हेरफेर, थपघट गर्न वा सच्याउन नसकिने उल्लेख छ ।
राष्ट्रिय सभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २–२ जना सांसद छन्।