१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अखिल अध्यक्षको दाबेदार हुँ

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७४, सोमबार १३:३७

आरती लामा, सचिव, अनेरास्ववियु

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विघटनको संघारमा छ । अध्यक्ष नवीना लामा समानुपातिकबाट प्रतिनिधिसभाको सांसद बनेपछि अनेरास्ववियुमा अध्यक्ष पद खाली छ । त्यसैले अहिले अखिलमा विघटनको चर्चा चलेको हो । दुई ठूला कम्युनिस्ट पार्टीहरू एउटै हुने चर्चासँगै भ्रातृसंस्थाका विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी एक हुने तयारी गर्दैछन् । त्यसैले विद्यार्थी संगठनको नेतृत्वमा को आउने भन्ने बहस चलिरहेको छ । नेतृत्वसँगै अबको एकता प्रक्रिया कसरी अघि बढ्ने, अबको एजेन्डा के हुने भन्ने बहसका बारेमा अखिलकी सचिव आरती लामासँग राज ढुंगााले गरेको कुराकानी :

० अनेरास्ववियु अहिले के गर्दैछ ?
– हामीले भर्खरै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायौं । श्रमिक महिला पत्रकारलाई हामीले सम्मान ग¥यौं । देशभरि सम्मेलनको मिति तय गरिसकेका थियौं, पार्टीको निर्देशनअनुसार हामीले सम्मेलन रोकेका छौं । तर विभिन्न रचनात्मक कार्यक्रम, आन्दोलन, विद्यार्थीमाझ पुगेर पुनर्गठनको अभियानलाई हामीले जोडिरहेका छौं । सम्मेलनबाहेक हामीले सबै खाले गतिविधि गरिरहेका छौं ।

० जिल्लाको अधिवेशन सक्नुभयो ?
– दुई वर्षअघिको फागुनमा हाम्रो महाधिवेशन भएको थियो । हामी २२औं महाधिवेशनको तयारीमा थियौं । नयाँ ढंगले राजनीतिक कोर्ष अघि बढ्यो । अहिले पार्टी एकताको कुरा आएको छ । पार्टीसँगै जनवर्गीय संगठन पनि एकतामा जानुपर्ने भएकाले धेरै जिल्लाको सम्मेलन हामीले सम्पन्न गरिसकेका थियौं, केही बाँकी थियो, त्यो रोकिएको छ ।

० नेतृत्व फेर्न अधिवेशन गर्न लाग्नुभएको हो ?
– अनेरास्ववियुको ५४ वर्षको गर्विलो इतिहास छ । अखिल विधि र विधानलाई मान्दै विद्यार्थीको चाहनाअनुरूप यो ठाउँसम्म आइपुगेको हो । ५४ वर्षको इतिहासमा पहिलोपटक वर्तमान अध्यक्ष प्रतिनिधिसभाको सदस्य बन्ने अवसर प्राप्त भयो । अध्यक्षले नयाँ जिम्मेवारी पाएपछि संगठनलाई नयाँ अध्यक्ष आवश्यक परेको छ ।

० दुईवटा विद्यार्थी संगठन एक हुने बेलामा अखिलमा अध्यक्षको बहस सान्दर्भिक छ र ?
– सान्दर्भिकता छ वा छैन भन्नुभन्दा पनि अहिलेको आवश्यकता हो । दुई वर्षे कार्यकाल पूरा गरिसक्यौं, हामी महाधिवेशन तयारीमा थियौं । महाधिवेशन तयारीमा रहेकै बेला हामीमाझ ऐतिहासिक जिम्मेवारी आएको छ । दुई पार्टी एकतासँगै हाम्रो विद्यार्थी संगठन पनि एक हुने कुरामा कुनै दुविधा छैन । तर त्यसभन्दा अगाडि वर्तमान अध्यक्ष नवीना लामा प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँको भूमिका अब संसद्मा रहने हुँदा संगठनलाई नेतृत्वविहीन बनाउनु हुँदैन । त्यसकारण संगठन पुनर्गठनको आवश्यकता भयो ।

० पुनर्गठन कसरी हुन्छ ?
– चुनाव हुँदैन, निर्वाचन नहुने भए पनि कुनै नेताले तोकेको व्यक्ति आउनु हुँदैन । विधि र विधानभित्र रहेर विद्यार्थीको चाहनाअनुरूप आउनुपर्छ । यो विषयको छलफल हामीमाझ चलेको छैन, त्यसैले बजारमा धेरै कुराको चर्चा चलेको छ ।

० नेतृत्व लिन होडबाजी चलेको छ नि ?
– पुनर्गठनको कुरा भइरहँदा म नेतृत्व सम्हाल्छु भन्ने कुरालाई अन्यथा लिनु हुन्न । उहाँहरू फुत्त अखिलका नेता भएका होइनन्, लामो इतिहास बोकेका, धेरै चरण पार गरेर आउनुभएको छ । दुईवटा पार्टी एक हुन लागेका बेला जुनसुकै पदमा बस्न तयार हुनुपर्ने अवस्था छ । हामीले व्यक्तिगत चाहनाभन्दा माथि उठेर पार्टीको हितमा काम गर्नुपर्छ । पदलाई सर्वोपरी ठान्ने चिन्तन अशोभनीय छ ।

० अध्यक्ष पद खाली रहेको परिस्थितिमा नेतृत्व कसले लिने भन्ने कुरा विधानमा छैन ?
– अध्यक्ष नवीना लामाले राजीनामा दिन्छु भन्नुभएको छ । त्यसपछि स्वाभाविक रूपमा उपाध्यक्षले नेतृत्वको दाबी गर्न पाउनु हुन्छ । सचिवले अध्यक्षको दाबी नगर्ने भन्ने कुरा आउँदैन । एक कार्यकाल पदाधिकारी भइसकेकाले नेतृत्वको दाबी गर्न पाउने विधानमा स्पष्ट छ ।

० नेतृत्वका लागि यो बहस आवश्यक थियो ?
– थिएन, कार्यकर्ताको लेबलबाट यो विषयमा सामाजिक सञ्जालमा विचारहरू सार्वजनिक भएको छ । अखिलको गर्विलो इतिहास जोगाउने जिम्मेवारी तपाईं हाम्रै काँधमा छ । त्यसैले साथीहरू विधि र विधानमा रहेर मर्यादित रूपमा प्रस्तुत हुँदा राम्रो हुन्थ्यो ।

० नेतृत्वको विषयमा पदाधिकारीबीच छलफल भयो ?
– यो विषय अहिले छलफलमा आएको छैन । तर सामाजिक सञ्जाल र सडकमा छरपस्ट भएको छ । यो कुरा छरपस्ट रूपमा आइसकेपछि विद्यार्थी इन्चार्ज रवीन्द्र अधिकारी र अध्यक्षले बैठक बोलाउनु हुन्छ होला । पुनर्गठन हुँदा पदाधिकारी मात्र होइन, तल्लो तहसम्म पुनर्गठनको आभास हुनुपर्छ । क्रान्तिकारीसँग एकताको बाटोमा लाग्नुपर्ने भएकाले यही ढंगले बहस चल्नुपर्छ ।

० एकताका बारेमा क्रान्तिकारीसँग छलफल भएको छैन ?
– हाम्रो हिजोसम्म मुख्य प्रतिस्पर्धी भनेको क्रान्तिकारी विद्यार्थी संगठन नै थियो । स्थानीय निर्वाचनभन्दा अघिसम्म हाम्रो प्रमुख शत्रु भनेकै क्रान्तिकारी विद्यार्थी थिए । पछिल्लो चरणमा वाम गठबन्धन बनेको छ, त्यसपछि अखिल र क्रान्तिकारीले संयुक्त रूपमा निर्वाचन परिचालन कमिटी निर्माण गरेका थियौं । अहिले संयुक्त रूपमा विभिन्न कार्यक्रम गछौं । जिल्ला तहदेखि नै हाम्रा साथीहरूबीच अन्तरमिलन भइसकेको अवस्था छ ।

० राजनीति मात्र गर्ने कि विद्यार्थीको हकहितका काम पनि गर्नुहुन्छ ?
– अहिलेको अवस्था भनेको नेतृत्व छान्ने हो, यसलाई हामीले अस्वाभाविक लिनु हुँदैन । राजनीति मात्र गर्ने विद्यार्थीको हकहितमा नबोल्ने अखिलको चरित्र होइन । हिजोको हाम्रो इतिहास हेर्ने हो भने विद्यार्थीको हकहित र शिक्षाको विषयमा लडिरहेका छौं । शिक्षामा भएको व्यापारीकरण, माफियातन्त्रविरुद्ध हामी अहिले पनि आन्दोलनमै छौं ।

० अहिलेको कार्यकाललाई कसरी लिने ?
– तीतो सत्य भन्नैपर्छ, यो हाम्रो कार्यकाल सुखद रहेन । केन्द्रीय, स्थायी कमिटीमा आ–आफ्नो फरक मत राख्ने काम भयो । तर, यी सबै कुरा छलफल र बैठकमा सीमित हुन्थ्यो, ती असमझदारी बैठकमा सीमित हुन्थ्यो, चितवन बैठकले त्यो सन्देश दिएको थियो ।

० तपाईं पनि अध्यक्षको दाबेदार ?
– पोखरा महाधिवेशनमा रामकुमार झाँक्रीले नेतृत्व लिइरहँदा म पनि केन्द्रीय समितिमा थिएँ । अहिले नेतृत्व दाबी गरिरहेका धेरै साथीहरू त्यसबेला केन्द्रीय कमिटीमा हुनुहुन्थ्यो, केही साथीहरू त चुनावमा पराजित भएर पनि मनोनीत भएर आएका हुन् । म निरन्तर संगठनमा छु, अहिले सचिव छु, त्यस हिसाबले म पनि अध्यक्षको दाबी गर्न सक्छु ।

० अबको अध्यक्ष को ?
– विधि र विधानमा रहेर विद्यार्थीको चहानाअनुरूप जो आउँछ, त्यही नै अध्यक्ष हो ।