१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘यसकारण भयो युएस बंगलाको विमान दुर्घटना’

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७४, सोमबार १३:४७

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमानका पाइलटको गल्तीका कारण युएस बंगला एअरलाइन्सको विमान दुर्घटना भएको जनाएको छ । सोमबार विमान दुर्घटनापछि विमानस्थलले गरेको पत्रकार सम्मेलनमा विमानस्थलका प्रमुख राजकुमार क्षत्रीले सोमबार दिउँसो २ बजेर १८ मिनेटमा सो विमान ‘जिरो टु’ मार्गबाट अवतरण हुनुपर्नेमा विमानका पाइलटले ‘टु जिरो’बाट अवतरण गर्न अनुमति मागेको बताए ।

अर्थात् दक्षिणतर्फबाट अवतरण गर्नुपर्ने विमानका पाइलटले उत्तरतर्फबाट अवतरण गर्ने भन्दै उत्तरतर्फ लागेपछि एअर ट्राफिक कन्ट्रोलले पाइलटलाई ‘तपाइँलाई केही समस्या छ कि ?’ समेत भनेर सोधेको भन्दै क्षत्रीले पाइलटले कुनै समस्या नभएको बताएको पनि जानकारी दिए । विमानले उत्तरपूर्व गएर दुई फन्को लगाएको र अवतरण गर्न नसकेपछि पाइलटलाई गलत बाटोमा गइरहेको चेतावनी दिँदा उताबाट कुनै प्रतिक्रिया नै नआएको पनि उनले जानकारी दिए । त्यसलगत्तै विमान पूर्वपट्टीको बार भत्काउँदै विमानस्थलबाहिरको खोंचमा खसेको थियो ।