१५ बैशाख २०८१, शनिबार
Follow Us

‘शत्रु गते’ टुरमा दर्शकको भीड

sarusaru
२९ फाल्गुन २०७४, मंगलवार ०४:४६

पछिल्लो समय दर्शकलाई हलसम्म तान्ने गतिलो माध्यम बनेको छ फिल्मको ‘रोड कन्सर्ट’ । हजारौ दर्शकलाई एकसाथ फिल्मको विषयमा जानकारी दिँदै कलाकारले आफ्नो प्रस्तुती दिँदा फिल्मप्रति दर्शकको चासो थप बढ्ने गर्छ । यसबाट आफ्नै आँखा अगाडि देखेका कलाकारको फिल्म हेर्ने रहर दर्शकमा जाग्न थाल्छ । त्यसको प्रत्यक्ष प्रभाव फिल्मको व्यापारमा पर्छ ।

खर्च धेरै लाग्ने भएका कारण ठूला ब्यानरका तथा प्रतिक्षीत फिल्मको मात्र सांगीतिक कन्सर्ट आयोजना हुँदै आएका छन् । चैत ९ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत फिल्म ‘शत्रु गते’ टिम पनि यतिबेला मोफसल दौडमा छ ।

‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यस यात्रामा कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले रहेका छन् ।

मोफसलका दर्शक तथा सञ्चारकर्मीसँग भेटघाट गर्ने उद्देश्यले फिल्मको मोफसल टुर आरम्भ गरिएको हो । फागुन ३० गतेसम्म चल्ने कन्सर्टको शुभारम्भ हेटौंडाबाट भएर पोखरासम्म सम्पन्न भइसकेको छ ।

अब फिल्मको जम्बो टिम पूर्व लागेको छ । बिर्तामोड, दमक र इटहरीमा ‘शत्रु गते’ को सांगीतिक कन्सर्ट हुन बाँकी छ । कन्सर्टमा सहभागी कलाकार तथा प्रस्तुतकर्ता किरण केसीले मोफसलका अधिकांश ठाउँमा दर्शकको उपस्थिति उल्लेख्य रहेको बताए ।

उनले भने, ‘हामीले जहाँ कार्यक्रम गर्‍यौं त्यहाँ दर्शकको भीड थामिसक्नु छैन । अधिकांश दर्शकले फिल्म हेर्न आतुर रहेको बताउनुभएको छ । हामी दर्शकको साथ र मायाबाट थप उत्साहित भएका छौं ।’

कन्सर्टमा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य ‘हरिबहादुर’ र कलाकार दीपाश्री निरौला ‘प्रहरी’ बनेर प्रहसन गरेका छन् । पल र आँचलले ‘पिरतीको बर्को’ गीतमा आफ्नो नृत्य प्रस्तुत गर्दा किरण केसी र शिवहरी पौडेलको कमेडीले दर्शकलाई हसाँएको छ ।

यस्तै, गायिका जुनु रिजालले ‘शत्रु गते’ का गीत गाएर दर्शक नचाएकी छिन् । यस फिल्मलाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको हो भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् ।

फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक प्रदीप भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् ।

यसमा छायांकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

प्रदीप भट्टराई निर्देशित फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल, रमेश रञ्जनलगायतका कलाकारको पनि प्रमुख भूमिका छ । मल्टिस्टार कलाकार भएका कारण यो फिल्म हिट हुने अड्कल काटिएको छ ।