१५ बैशाख २०८१, शनिबार
Follow Us

नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु

sarusaru
२९ फाल्गुन २०७४, मंगलवार ०४:५७

नयाँ राष्ट्रपति चयनका लागि अहिले मतदान जारी छ । मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा वाम गठबन्धनको तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसको तर्फबाट कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन् ।

राष्ट्रपति चयनका लागि बिहान १० बजेदेखि मतदान शुरु भएको हो । अपराह्न ३ः०० बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको छ । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा मतदानका लागि मतदाता पुगेका छन् ।

राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएको छ ।

आयोगले मतदातालाई आफू सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचय पत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि आउन अनुरोध गरेको छ ।