१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मुखियाको हत्या देवको घरमा, तीनजना समातिए

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७४, मंगलवार १४:१९

झापा । झापामा एकजना सुनचाँदी व्यवसायीको हत्यामा संलग्न भएको अभियोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडले मंगलबार पत्रकार सम्मेलन गरी तीनजनालाई सार्वजनिक गरेको छ । बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको शव भेटिएको भोलिपल्ट प्रहरीले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएकामा बिर्तामोडको ऋद्धिसिद्धि ज्वेलर्सका सन्चालक पारसकुमार देव, सोही ज्वेलर्सका कामदार बिर्तामोड–८ का दीपेश पौडेल र बिर्तामोड–३ का चिरन्जीवी ओली रहेका छन् । उनीहरु तीनजना मिलेर मुखियाको हत्या गरेको प्रहरीले जनाएको छ । झापाका प्रहरी प्रमुख एसपी विष्णुबहादुर केसीले देवको घरमा मुखियालाई बाँधेर हत्या गरिएको अनुसन्धानकाक्रममा खुलेको बताए ।

प्रहरीकाअनुसार हत्यापछि उनको शवलाई भारतीय नम्बरको गाडीमा राखेर इलामको कोल्बुङ पुर्‍याइएको थियो । सुनचाँदी व्यवसायी संघ झापाका सदस्य मुखिया गत फागुन २० देखि बिर्तामोडबाट बेपत्ता भएका थिए । उनलाई सोही दिन मारिएको प्रहरीले जनाएको छ । मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित भीरमा फेलापरेको थियो । बोरामा बाँधेर फ्याँकिएको अवस्थामा उनको शव भेटिएको प्रहरी प्रमुख केसीले जानकारी दिए । प्रहरीले अभियुक्तका साथबाट गरगहना, मोबाइल र मे७प ८७५४ नम्बरको एउटा स्कुटी बरामद गरेको छ । मुखियाको हत्यापछि उनीहरुले ती गरगहना लुटेको प्रहरीको दाबी छ ।