१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसका तर्फबाट ज्वाइँ ससुरा मन्त्री

नेपालब्रिटेन डट कम्
८ भाद्र २०७३, बुधबार १२:५४

काठमाडौं । नेपाली कांग्रेसले आफ्नोतर्फबाट मन्त्री बनाउने नाम औपचारिक रुपमा तय गर्न नसके पनि मन्त्री बन्ने व्यक्तिहरु लगभग सार्वजनिक भइसकेका छन् । देउवाले पछिल्लो पटक अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण र जीवनबहादुर शाहीलाई मन्त्रीमा सिफारिस गरिसकेका छन् । केसी शिक्षा, डा. महत परराष्ट्र, खाँण रक्षा र शाही संस्कृति तथा पर्यटन मन्त्री हुनेछन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले भने सम्मानजनक उपस्थितिभन्दै अहिलेसम्म नाम दिन सकेका छैनन् । आफ्नो भागमा ५ मन्त्री र ४ राज्यमन्त्री हुनुपर्ने अडानसहित आफू निकटहरुसँग छलफल गरिरहेका छन् । पौडेल पक्षबाट सीतादेवी यादव, बलबहादुर केसी, नवीन्द्रराज जोशी मन्त्री बन्ने पक्काजस्तै भएको छ । महामन्त्री शंसाक कोइरालाको सिफारिसमा दिपक गिरी मन्त्री हुनेछन् ।
अर्का नेता कृष्णप्रसाद सिटौलाले भने गगन थापालाई सिफारिस गरेका छन् । थापा मन्त्री बने कांग्रेसका तर्फबाट एउटै मन्त्रिमण्डलमा ज्वाइँ ससुरा मन्त्री हुनेछन् । अर्जुननरसिंह केसी थापाका ससुरा हुन् । उनीहरु दुवै कांग्रेस महाधिवेशनमा महामन्त्रीका उम्मेदवार थिए ।
अझ रमाइलो त के छ भने ज्वाइ–ससुरा दुवैले एउटै मन्त्रालय दाबी गरेका थिए । दुवैको रोजाइ सहर विकास मन्त्रालय थियो । ज्वाइले पनि सहरी विकास मन्त्रालय रोजेपछि पहिले पनि शिक्षा मन्त्रालय सम्हालिसकेका केसीले उक्त रोजाइ त्यागेका थिए ।
यता खुमबहादुर खड्काले भने सिन्धुपाल्चोकका मोहनबहादुर बस्नेत वा तनहुँका शंकर भण्डारीमध्ये एकलाई मन्त्री बन्न सिफारिस गर्ने बुझिएको छ ।
यता, वरिष्ठ नेता पौडेलले मन्त्रीको नाम पठाउन ढिला गरेपछि कांग्रेस मन्त्रीको आज हुने सपथ शुक्रबारलाई सरेको छ । भोलि कृष्णअष्टमी परेकाले सार्वजनिक विदाइ दिएकाले सपथ शुक्रबारका लागि सरेको हो ।