११ बैशाख २०८१, मंगलवार
Follow Us

राष्ट्रपतिले प्रधानन्यायाधीश पराजुलीबाटै सपथ लिने

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०७४, बुधबार ०४:४८

काठमाडौं । दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिनु भएकी विद्यादेवी भण्डारीले आज पद तथा गोपनीयताको सपथ लिँदै हुनुहुन्छ । हिजो भएको राष्ट्रपति निर्वाचनमा भण्डारी दुई तिहाई बहुमतले निर्वाचित हुनु भयो । उहाँले आज अपरान्ह ४ बजे पद तथा गोपनीयताको सपथ लिन लाग्नु भएको हो । राष्ट्रपतिलाई प्रधानन्ययाधीशले सपथ गराउने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गर्नु भयो भने, प्रतिस्पर्धी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० भतभार पाउनु भयो । निर्वाचनमा संघीय संसदका र प्रदेशसभा सदस्य गरी कुल ८ सय ६२ जनाले मतदान गर्नु भएको थियो । राष्ट्रपति भण्डारीको कार्यकाल पाँच वर्षको हुनेछ ।

यसैबीच, राष्ट्रपति कार्यालयले प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीबाटै राष्ट्रपतिको सपथ हुने जनाइको छ । सपथ ग्रहणमा वैधताको प्रश्न उठेकोले राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ कार्यकालका लागि को बाट सपथ लिनेबारे उत्पन्न भएका शंका उपशंका राष्ट्रपति कार्यालयले मेटाइदिएको हो ।

दोश्रो कार्यकालका लागि हिजो राष्ट्रपतिमा निर्वाचित भण्डारीको सपथ आज अपरान्ह ४ बजेका लागि तोकिएको छ ।
सपथका लागि राष्ट्रपति कार्यालयले सबै तयारी पुरा गर्दै बोलाउनुपर्ने सबैलाई सपथ ग्रहण समारोहका लागि निम्तो गरिसकेको छ । नेपालको संविधान २०७२ को धारा ७१ मा राष्ट्रपति र उपराष्ट्रपतिको सपथ सम्बन्धी व्यवस्था छ । धारा ७१ मा राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानून बमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ भनिएको छ ।

तर प्रधानन्यायधिश गोपाल पराजुलीमाथि ‘वैधानिकताको’ प्रश्न उठेको भन्दै राष्ट्रपतिको सपथ समेत अन्यौलमा परेको तर्क वितर्क उठिरहँदा, राष्ट्रपति कार्यालयले यसमा कुनै समस्या, अन्यौल र विवाद नरहेको प्रष्ट पारेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारले “राष्ट्रपतिले संविधान अनुसार सपथ खाने हो । संविधान अनुसार उहाँले प्रधानन्यायधीशबाट सपथ लिने हो ।

अहिले मुलुकको प्रधानन्यायधिशको कुर्सीमा गोपाल प्रसाद पराजुली बाहेक अरु छन् ? छैनन्। त्यसैले आज तोकिएकै समयमा राष्ट्रपति भण्डारीले दोश्रो कार्यकालका लागि प्रधानन्यायधीश गोपाल प्रसाद पराजुलीबाटै सपथ लिनुहुन्छ । यसमा कुनै द्विविधासुविधा छैन, भन्नु भएको छ ।