१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पार्टी एकता वैशाख ९ गते: प्रधानमन्त्री

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०७४, बुधबार ०६:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखअगावै नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकता हुनसक्ने बताउनुभएको छ । सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जलपान कार्यक्रममा ९एमाले० का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले समयको माग र जनताको चाहानाबमोजिम चाँडै पार्टी एकता हुन लागेको बताउनुभयो ।

आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन दुबै पार्टीबीचको एकता घोषणा गर्न सुझाव दिए पनि त्यसअघि नै गृहकार्य पूरा भएमा एकता हुनसक्ने बताउँदै उहाँले भन्नुभयो- “वर्तमान सरकार मुलुकमा शान्ति, स्थायित्व, विकास, समृद्धि र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि प्रभावकारी रुपमा अघि बढ्न सक्षम छ ।”

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको निर्वाचन र प्रधानमन्त्रीको विश्वासको मतमा साथ दिएकोमा सदस्यहरुलाई धन्यवाद दिँदै न्यायालयमा देखिएको विवादबारे चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो– “अहिले न्यायालय भकभक उम्ली रहेको छ, न्याय पाउँ भन्ने मान्छे तमासा हरेर पुर्पुरोमा हात लाएर बसिरहेका छन्, जिम्मेवार पदका बारेमा जन्म मिति र शैक्षिक प्रमाणपत्रबारे विवाद हुनु दुःखद् अवस्था हो ।” अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले समयको माग, जनताको चाहाना र देशको हितका पक्षमा संविधान संशोधन गर्न आफूहरु सधँै तत्पर रहेको प्रष्ट पार्नुभयो ।

सो अवसरमा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगो राष्ट्रलाई एक ढिक्का बनाएर जनताले दिएको अभिभाराबमोजिम परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको लडाइँमा आफूहरुले विजय हासिल गर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले परिवर्तनकारी मिलेको देख्न नचाहने प्रतिक्रियावादीले विगतका कटुतालाई प्रचार गरेर आफूहरुको एकता भाँड्न खोजे पनि त्यो सफल हुन नसक्ने दाबी गर्नुभयो । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यको सहभागिता रहेको थियो ।