१४ बैशाख २०८१, शुक्रबार
Follow Us

न्यायपरिषद्को सचिवस्तरीय निर्णयबाट प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको जानकारी

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०७४, बुधबार १३:३०

काठमाडौं । न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुली उमेर हदको कारण पदमुक्त रहेको जानकारी गराएका छन् । सचिव निरौलाले प्रधानन्यायाधीश पराजुलीलाई थमाएको पत्रअनुसार प्रधानन्यायाधीश पराजुली २०७४।४।२१ गते ६५ वर्ष पूरा भएको देखिन आएकाले सचिवस्तरीय निर्णयअनुसार उहाँ पदमुक्त रहेको जानकारी गराउँछु भन्ने उल्लेख छ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।
पराजुलीले ६५ वर्षे उमेर हदका कारण पराजुलीले २१ साउनमै अवकास पाएको न्याय परिषद सचिवालयले जनाएको छ । न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपवुरबाट आज प्राप्त पत्रका आधारमा पराजुलीले २१ साउनमा नै अवकास पाएको देखिएको परिषद्ले जनाएको छ । लगतै सचिवस्तरीय बैठकबाटै पराजुलीलाई पदमुक्त भएको पत्र काटिएको छ । न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।
पत्रको अन्त्यमा भनिएको छ, सम्माननीय महोदयले न्यायसेवामा पुर्‍याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’