१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानन्यायाधीश पराजुलीको कार्यकाल अझै २ वर्ष बाँकी ? पत्र हेर्नुस्

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०७४, बुधबार १४:११

काठमाडौं । सचिवस्तरीय निर्णय गरेर प्रधानन्यायाधीश गोपाल पराजुलीको कार्यकाल गत साउनमै समाप्त भएको पत्र थमाउने न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले गलत सावित भएका छन् । नागरिकताअनुसार वैशाख १६ गते पदावधि सकिने पराजुलीको जन्ममिति शैक्षिक प्रमाणपत्रका आधारमा पदावधि सकिएको निर्णय गर्दै सचिव निरौलाले प्रधानन्यायाधीशलाई पत्र थमाएका थिए ।

सचिव निरौलाले २०७४।११।३० को च.नं. ४२४।०७४।७५ को प्राप्त समेतका आधारमा उपरोक्त ऐनको दफा ३१ को उपदफा (७) बमोजिम समेत सम्माननीय महोदयको ६५ (पैसठी) वर्षको उमेर २०७४।४।२१ मा नै पूरा भइसकेको देखिएकाले आज मिति २०७४।११।३० को सचिवस्तरीय निर्णयानुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु’ भनेर पत्र लेखेका थिए ।

तर परीक्षा नियन्त्रण कार्यालयबाट उपनियन्त्रक विजयप्रसाद आचार्यले न्याय परिषद् सचिवालयलाई लेखेको पत्रमा गोपाल पराजुलीको जन्ममिति वि.सं. २०११।०१।१३ गते उल्लेख गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले न्यापरिषद् सचिवालयलाई लेखेको पत्रमा भनिएको छ– उपरोक्त सम्बन्धमा त्यस सचिवालयको प.सं. २०७४÷०७५, च.नं. २२१ मिति २०७४।११।२९ को पत्रको सम्बन्धमा वि.सं. २०२९ सालमा नेपाल राष्ट्रिय विद्यापीठ वीरगन्ज, चितवन भरतपुर केन्द्र सिं. ११७ बाट प्रवेशिका परीक्षामा सम्मिलित परीक्षार्थी श्री गोपाल पराजुलीको मूल प्रमाणपत्र यसैसाथ उपलब्ध गराइएको छ । साथै यस कार्यालयको अभिलेखअनुसार निजको जन्ममिति विं.सं. २०११।०१।१३ भएको व्यहोरा अनुरोध छ ।

परीक्षा नियन्त्रण कार्यालयको पत्रअनुसार प्रधानन्यायाधीश गोपाल पराजुलीको कार्यकाल अझै दुई वर्ष बाँकी रहेको पत्रले स्पष्ट पारेको छ । न्यायपरिषद्का सचिव निरौलाले के आधारमा प्रधानन्यायाधीशलाई पदावधि सकिएको पत्र लेखे त्यसको छानबिन गर्न न्यायपरिषद्को बैठक आजै बस्ने भएको छ ।