१३ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्रिपरिषद् विस्तारको तयारी, मन्त्रालयको संख्या बढ्ने

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०७४, शुक्रबार ०४:३८

काठमाडौं । सरकार गठन भएको झन्डै एक महिनापछि प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न लाग्नु भएको छ । प्रधानमन्त्री ओली एमाले, माओवादी, संघीय समाजवादी फोरम र राजपासमेतलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा लाग्नुभएको हो ।

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने लगभग निश्चित भएपनि राष्ट्रिय जनता पार्टीसँग भने छलफल जारी रहेको मन्त्री लालबाबु पण्डितले बताउनु भएको छ । एमाले–माओवादीले यस अगाडि भागबन्डा गरेको मन्त्रालय संख्यामा दुबैका एक–एकवटा घटाएर फोरमको व्यवस्थापन गर्ने तयारी भएको छ ।

एमालेलाई प्रधानमन्त्रीसहित १०, माओवादीलाई ६ र फोरमलाई २ मन्त्रालय भाग पर्नेछन् । त्यस्तै राजपा सरकारमा आए उसले पनि दुई मन्त्रालय पाउनेछ । मन्त्रालयको संख्या र कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषयमा टुंगो भने लागि नसकेको मन्त्री पण्डितको भनाई छ ।

यसैबीच, आवश्यक परे मधेशवादी दललाई सरकारमा सहभागी गराउन मन्त्रालयको संख्या पनि थप गर्ने तयारी भैरहेको छ । अहिलेको अवस्थालाई हेरेर २ देखि ३ वटा मन्त्रालय थप हुन सक्ने मन्त्री पण्डितले बताउनुभयो । संविधानमा मन्त्रिपरिषद २५ सदस्यीय मात्रै बनाउन पाइने व्यवस्था छ । मन्त्रालयको संख्या भने किटान गरिएको छैन ।

काशीराज दाहाल नेतृत्वको प्रशासन सुधार सुझाव आयोगले केन्द्रमा १५ वटा मन्त्रालय बनाउन प्रस्ताव गरेकोमा सामान्य प्रशासन मन्त्रालयले संशोधन गरेर १८ मन्त्रालय बनाउने प्रस्तावले मन्त्रिपरिषदमा लगेको थियो । नयाँ सरकार गठन लगत्तै केन्द्रमा १८ र प्रदेशमा ७ मन्त्रालय रहने निर्णय गरेको थियो । मन्त्रालयको कार्यविभाजन कार्यविधि राजपत्रमा पनि प्रकाशित भइसेको छ ।