१३ बैशाख २०८१, बिहीबार
Follow Us

महिला महाधिवेशनको तयारी अन्तिम चरणमा

नेपालब्रिटेन डट कम्
८ भाद्र २०७३, बुधबार १३:३२

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घले तेस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएकोे छ । काठमाडौँको भृकुटीमण्डपमा भदौ २९, ३० र ३१ गते तेस्रो महाधिवेशन गर्नका लागि महाधिवेशनको तयारी भएको सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सङ्घले यसपटकको महाधिवेशनका लागि ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ मूल नारा तय गरेको छ । तेस्रो महाधिवेशनका क्रममा नयाँ संविधानमा आधा आकाश ढाकेका नारीका बारेमा, महिला अधिकारका क्षेत्रको हकमा ३५ प्रतिशतको व्यवस्था गरेको विषय आफूलाई स्वीकार्य नभएको निष्कर्षसहित नयाँ नेतृत्व चयन गर्ने बताएको छ ।

महाधिवेशनले अध्यक्ष, महासचिव, र कोषाध्यक्ष तीन पदाधिकारीसहित खुलाबाट १५ केन्द्रीय सदस्य, प्रान्तबाट दुई÷दुई जना गरी १४ जना, दलितबाट तीन जना, आदिवासी÷जनजातिबाट तीन जना, मुस्लिम र पिछडा वर्ग एक जना मधेसीबाट तीन जना र मनोनित नौ केन्द्रीय सदस्यसहितको ५१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

सङ्घकी अध्यक्ष डा डिला सङ्ग्रौलाले संविधानले व्यवस्था गरेको अधिकारको परिधि साँघुरो रहेको भन्दै केन्द्रमा ३५ प्रतिशत, प्रान्तमा ४० प्रतिशत र स्थानीय तहमा ५० प्रतिशत अधिकारको व्यवस्था हुनुपर्ने र तेस्रो महाधिवेशनले अधिकारको प्रतिशतका विषयमा आवाज उठाउने बताउनुभयो ।

महिला सङ्घकी केन्द्रीय सदस्य निर्मला क्षेत्रीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल महिला सङ्घको अग्रणी भूमिका रहेको उल्लेख गर्दै तेस्रो महाधिवेशनलाई ऐतिहासिक महाधिवेशनका रुपमा सफल बनाउन आफूहरु लागिपरेको बताउनुभयो ।

महाधिवेशनमा दुई हजार २४४ प्रतिनिधिले भाग लिने बताइएको छ ।