१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मोदी र सी नेपाल आउनुहुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

नेपालब्रिटेन संवाददाता
३ चैत्र २०७४, शनिबार ११:४४

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ मा नेपालमा उच्चस्तरीय अन्तर्राष्ट्रिय भ्रमणहरु हुने बताएका छन् । ‘२०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुहुन्छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि आउनुहुन्छ । नेपालबाट पनि उच्चस्तरीय भ्रमण हुन्छन्’–शनिबार रिपोर्टर्स् क्लबद्वारा राजधानीमा आयोजित साक्षात्कारमा उनले भने ।

मन्त्री ज्ञवालीले नेपालबाट पनि राष्ट्रपति र प्रधानमन्त्रीले उच्चस्तरीय भ्रमण गर्ने स्पस्ट पारे । ‘सन् २०१८ मा द्विपक्षीय उच्चस्तरीय भ्रमणहरु हुन्छन् । यो हिसाबले पनि सन् २०१८ नेपालको लागि महत्वपूर्ण हुनेछ’–उनले भने । उनले भने–‘हामी अहिले द्विपक्षीय उच्चस्तरीय भ्रमणको तयारीमा जुटेका छौं । गृहकार्यहरु भइरहेका छन् । दुवै मित्रराष्ट्रबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन्छ ।’

हालै नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजमार्फत् भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको र चिनियाँ राष्ट्रपति सी सन् २०१६ मै नेपाल आउने तयारी गरेकाले २०१८ मा दुवैजना नेपाल आउने उनको दाबी थियो । उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विदेश भ्रमण चाँडै गर्ने बताए । ‘प्रधानमन्त्री ओलीको विदेश भ्रमणको गृहकार्यमा हामी जुटिसकेका छौं’–उनले भने ।

उनले भारत र चीनसहित अमेरिका, बेलायत र जापानबाट पनि नेपालमा उच्चस्तरीय भ्रमण हुने विश्वास दिलाए । भारतले नेपालसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न खोजेको सन्देश दिइसकेकाले आफूहरु त्यसप्रति पूर्णसकारात्मक रहेको ज्ञवालीको भनाइ थियो । उनले भने–‘चीनका राष्ट्रपतिसँग मैले भेटेर यसअघि पनि कुरा गरेको छु, उहाँ नेपाल आउन सकारात्मक हुनुहुन्छ, चीन सकारात्मक छ ।’

मन्त्री ज्ञवालीले नेपाल अहिले महत्वपूर्ण मोडमा उभिएको उल्लेख गर्दै आगामी दिनमा मुलुकको राष्ट्रिय नीतिलाई बल पुग्ने गरी विदेश नीति अघि बढ्ने बताए । उनले नयाँ सरकारले छिमेकीहरुसँग असल सम्बन्ध कायम गर्दै आर्थिक कूटनीतिलाई बढावा दिने विश्वास दिलाए । उनले दुवै छिमेकीमुलुक भारत र चीनसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लगिने र नेपालको भूमि कसैकोविरुद्ध प्रयोग हुन नदिइने स्पस्ट पारे ।

‘भारत र चीन दुवैसँग हामी प्रगाढ सम्बन्ध कायम गर्छौं । नेपाल कुनैपनि छिमेकीको अहितमा छैन । कसैकोविरुद्धमा नेपाली भूमि प्रयोग हुन दिँदैनौं’–उनले भने । नेपालको विदेश नीति अब आर्थिक कूटनीति र सम्बन्धका आधारमा अघि बढ्ने मन्त्री ज्ञवालीको भनाइ थियो । ‘परराष्ट्रमन्त्रीको हैसियतले र नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकाले यसलाई सक्रिय बनाउन भूमिका खेल्छु । विमस्टेकलगायतका क्षेत्रीय संगठनहरुमा नेपालको तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्छु’–उनले भने ।

फरक प्रसँगमा उनले हालै भएको पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीको नेपाल भ्रमण सद्भाव भ्रमण भएकाले त्यसलाई अरुरुपमा टिप्पणी गर्न नहुने धारणा राखे ।