१३ बैशाख २०८१, बिहीबार
Follow Us

व्यापार घाटा ६ खर्ब १० अर्ब पुग्यो

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७४, आईतवार ०४:३१

काठमाडौं । दैनिक उपभोग्य र विलासिताका सामग्रीको आयात बढेसँगै यो वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अरब रुपैँया पुगेको छ । भन्सार विभागका अनुसार गएको साउनदेखि माघसम्म १ सय ४२ मुलुकबाट ६ खरब ५७ अरब बढीको सामग्री आयात भएको छ । निर्यात ४७ अरब ६२ करोड रुपैयाँको मात्रै भएको छ । निर्यात १३ प्रतिशतले बढ्दा आयात १८ प्रतिशतले बढेको छ । सरकारले निर्यात बढाउन गरेका प्रयासले सार्थकता पाउन सकेको छैन । मुलुक आयातमुखी बन्दै गइरहेको छ ।

सात महिनामा सबैभन्दा बढी ९७ अरब ७० करोड रुपैयाँ बराबरको इन्धन आयात भएको छ । दोस्रो बढी आयात हुने सामग्री मेसिनरी उपकरणका पार्टपुर्जा हुन् । यो सात महिनामा ७० अरब ७ करोड रुपैयाँ बराबरका मेसिनरी उपकरणसँग सम्बन्धित सामान भित्रिएका छन् । यस्तै, ६२ अर्ब ९ करोड रुपैयाँ बराबरका फलाम तथा स्टिल सामग्री आयात भएका छन् । करिब ५० अर्ब रुपैयाँ बराबरका सवारी साधन ल्याइएको छ ।

त्यस्तै विद्युतीय सामग्री ४५ अर्ब २६ करोड रुपैयाँको भित्रिएको छ । यो वर्षको सात महिनामा नेपालको सबैभन्दा बढी व्यापार घाटा भारतसँग भएको हो । यस्तै, चीनबाट ८८ अरब ५६ करोडको सामग्री आयात भएको छ । चीनपछि नेपालको व्यापार घाटा बढी रहेका मुलुकमा इन्डोनेसिया, अर्जेटिना, थाइल्यान्ड, भियतनाम, साउथ कोरिया, मलेसिया, फ्रान्स र जापानलगायत छन् ।