१५ बैशाख २०८१, शनिबार
Follow Us

जनजाति महासंघ यूकेको अध्यक्षमा जंग सुनुवार

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७४, सोमबार २३:४१

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतमा नयां नेतृत्व चयन भएको छ । आइतबार तमु भवन मिचेटमा सम्पन्न तेस्रो अधिवेसनले जंग सुनुवारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । तर सहमति जुट्न नसक्दा २१ सदस्यीय कार्यसमितिका १७ पद रिक्त राखिएको छ ।

अध्यक्ष्माा निर्वाचित सुनुवार निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । नयां कार्यसमितिको उपाध्यक्षमा कर्ण दुरा र लिला सेलिंग तथा महासचिवमा खुशी लिम्बु चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष, सचिव, सहकोषाध्यक्षसहित २१ कार्यसमितिका अरु ठाउंहरुमा भने सहमति हुन नसक्दा अधिवेसनले चयन गर्न सकेन ।

एकेन्द्र गुरुंगको संयोजकत्वमा पुर्ण लक्सम, गणेश इजाम, श्रीप्रसाद लिम्बू, भक्तबहादुर दुरा सदस्य रहेको निर्वाचन समितिले नयां कार्यसमिति चयन गराएको थियो ।
नयां कार्यसमितिको कार्यकाल ३ वर्ष रहनेछ ।

यसअघि कर्मा पहाडी शेर्पा, हिराधन राई, देविमाया पुन लगायतले पनि अध्यक्षमा दाबी गरेका थिए । राई र पुनले अध्यक्षमा शेर्पालाई छोड्न तयार देखिएपनि सर्वसम्मति नभएपछि निर्वाचन नै गर्नुपरेको अवस्था आएकोले अन्त्यमा आफैले छोडेको निवर्तमान कार्यसमितिमा महासचिव समेत रहेका अध्यक्ष दाबेदार शेर्पाले बताए ।

शेर्पा संघ यूकेको तर्फबाट अध्यक्षमा उम्मेदवार बनेका शेर्पालाई किरांत याक्खा छुम्मा, किरांत राई यायोक्खा, किरांत याक्थुंग चुम्लुंग, तमु धिं यूके, दुरा सेवा समाज, मगर संघ यूके, छन्त्याल संघ यूके, हेल्मो समाज यूके , तामांग सोसाइटी अफ यूके लगायतले समर्थन गरेको उनले दाबी गरे ।

‘तर पनि निर्वाचनमा जान मैले चाहेन’, शेर्पाले भने, ‘एक पक्षले निर्वाचन जित्दै गर्दा अर्को पक्ष संस्थामा निश्क्रिय हुने ठूलो खतरा छ । म अध्यक्ष बनेर पनि यदि संस्थालाई अरु हिसाबले नोक्सान पुग्छ भने किन निर्वाचन लड्ने भनेर नै मैले छोडेको हुं । ‘

शेर्पा अध्यक्षबाट बाहिरिएपछि उनको समर्थन गरेकाहरु कार्यसमितिमा आउन नमानेका कारण नै कार्यसमितिले पुर्णता पाउन नसकेको हो ।

बेलायतमा विभिन्न १३ जातीय संस्था क्रियाशिल छन् । तीमध्ये ११ संस्था जनजाति महासंघ बेलायतमा रजिस्टर भएका छन् ।

तीनै संस्थाहरुले पठाएका प्रतिनिधीको सहभागितामा अधिवेसन सम्पन्न भएको हो । अधिवेसनमा भाग लिन नेपालका पूर्व सांसद तथा जनजाति महासंघ केन्द्रका संस्थापक महासचिव सुरेश आले र पूर्व महासचिव बालकृष्ण माबोहांग बेलायत आएका थिए ।