११ बैशाख २०८१, मंगलवार
Follow Us

सौताका रिसले आगो लगाउँदा दुई सन्तानको मृत्यु

sarusaru
६ चैत्र २०७४, मंगलवार ०१:४५

काठमाडौँ । आइतबार राति सौतासौताबीचको झगडाले उग्ररुप लिएपछि आफू बस्दै आएको कटेज भित्र दुई बालबालिका राखेर आगो लगाउँदा दुई सन्तानको डढेर मृत्यु भएको छ।

रामेछाप खाँडादेवी गाउँपालिका वडा नं ६ पन्नेचउर मा पर्ने दिलबहादुर खत्रीको कटेजमा उनकी जेठी श्रीमती तारा केसीले आगो लगाउँदा कटेजभित्र सुतेका ४ वर्षीय छोरा विपीन खत्री र ३ वर्षीय छोरी रमिता खत्रीको डढेर मृत्यु भएको हो।

केही समयअघि दिलबहादुरले कान्छी श्रीमती घरमा ल्याएको र जेठीलाई हेला गरेपछि सौतासौताको विवादका कारण उक्त घटना घटेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए।

उनका अनुसार श्रीमान् श्रीमतीको विवाद चर्किँदै जाँदा मध्यराति आफु बस्दै आएको कटेजमा जेठी श्रीमती ताराले आगो लगाएकी हुन्।

आगोले कटेज भित्र सुतिरहेका दुई बालबालिकाको डढेर मृत्यु हुनुको साथै कटेज भित्र राखिएको सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएका छन्। घटना पछि घटनास्थल पुगेको प्रहरीको टोलीले घटनामा संलग्न तारा केसी र उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ।

घटनाको थप विवरण र घटनास्थलको मुचुल्का तयार गर्न प्रहरी घटनास्थलमा नै रहेको र मृतकको शव पोर्ष्टमार्टम गर्नको लागि आज दिउँसो जिल्ला सदरमुकाम मन्थली ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ

-नयाँ पत्रिकाबाट ।