१३ बैशाख २०८१, बिहीबार
Follow Us

जलाउन तयार गरेको शव प्रहरीले उठायो; मलामी पक्राउ

sarusaru
७ चैत्र २०७४, बुधबार ०२:३१

रौतहट । जलाउन चितामा राखेको महिलाको शव हत्या आशंकामा प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ। चार मलामी पक्राउ गरिएका छन्।

कटहरिया नगरपालिका-५ का विजय साह सोनारकी श्रीमती राजकुमारी देवीको शव प्रहरीले लालबकैया खोलास्थित घाटबाट नियन्त्रणमा लिएको हो । शव नियन्त्रणमा लिने क्रममा प्रहरी र मलामीबीच केहीबेर झडपसमेत भएको थियो । स्थानीयले श्रीमान्को कुटाइबाट मृत्यु भएकी महिलाको हतारहतार अन्त्येष्टि हुन लागेको सूचना दिएपछि प्रहरी घाट पुगेको रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए।

घटनामा संलग्न भएको आशंकामा मृतकका भाइ कटहरिया-५ का भन्टु साह, भान्जा रामबालक साह र रौतहट राजदेवी गाउँपालिका-३ का राजकिशोर साह र सुुरेश साह पक्राउ परेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। मृतकका आफन्तले घटना लुकाउन खोजेको आरोपमा पक्राउ गरेको प्रहरीको भनाइ छ। श्रीमान् विजय साह भने फरार छन्।

साहले हत्यापछि श्रीमतीका आफन्तलाई समेत प्रलोभनमा पारेको एसपी पोखरेलले बताए । स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार सोमबार राति साह र श्रीमती राजकुुमारीबीच झगडा भएको थियो । साहले स्थानीय कटहरिया बजारमा लोकल रक्सी र मासुको पसल राखेका छन् । उनले मदिरा खाएको विषयमा राति ९ बजेपछि श्रीमान् श्रीमतीको झगडा परेको थियो ।

मृतकको घाँटीमा नीलडाम देखिएको प्रहरीले जनाएको छ । घाटछेउबाट दुई बोतल पेट्रोल र पाँच केजी चिनी पनि बरामद गरेको प्रहरीले जनाएको छ।

मृतकका कोही पनि आफन्त किटानी जाहेरी दिन नआएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीले चिताबाट उठाएर लगेको शव फिर्ता माग्दै जिल्ला प्रहरी कार्यालय गौर पुगेका रामप्रवेश साह सोनारलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनी विजयका भाइ हुन् । शव जिल्ला अस्पताल गौरको शवगृहमा राखिएको छ। साह र राजकुमारी देवीको १० वर्ष पहिला विवाह भएको थियो। उनीहरूका दुई छोरा र दुई छोरी छन्।
– नयाँ पत्रिकाबाट ।