७ बैशाख २०८१, शुक्रबार
Follow Us

सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री ओली छलफलमा

नेपालब्रिटेन संवाददाता
७ चैत्र २०७४, बुधबार ०५:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीसँग छलफल गर्दै हुनुहुन्छ । प्रदेश सरकारका प्रतिनिधिहरुले सरकार सञ्चालनका लागि असुविधा झेलिरहेको गुनासोगरेपछि प्रधानमन्त्री ओलीले छलफल गर्न लाग्नु भएको हो ।
प्रधानमन्त्री ओलीले प्रदेशले अनेक समस्या झेलेको विषय बाहिर आएपछि प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीहरुलाई छलफलका लागि काठमाडौं बोलाउनु भएको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीको निम्तोमा प्रदेशका मुख्यमन्त्री र उच्च अधिकारी काठमाडौं आइपुगेको र अहिले बिहान ११ बजे छलफल हुने जानकारी दिनु भयो ।

प्रधानमन्त्रीले उनीहरुसँग आज सामूहिकरुपमा छलफल गरी प्रदेश सञ्चालनमा उत्पन्न समस्या, पूर्वाधार विकासको अवस्थालगायत विषयमा जानकारी लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रदेश सरकारले बनाउनुपर्ने कानूनबारेसमेत छलफल हुने बताइएको छ ।

प्रदेशसभा र त्यहाँको सरकार सञ्चालनमा कर्मचारी अभावसमेत उत्तिकै देखिएको छ । खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि आजकोे बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल हुनेछ । सातै प्रदेशमा प्रदेश सरकार गठन भइसके पनि स्रोत साधन र ऐन कानूनको अभावमा रुमल्लिएका छन् । मुख्यमन्त्री र मन्त्रीहरुले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन् भने कतिपय मन्त्रीलाई दिने गाडीसमेत छैन ।