६ बैशाख २०८१, बिहीबार
Follow Us

दिपकलाई भ्याइनभ्याई, चाँडै छैटौ एल्बम

नेपालब्रिटेन संवाददाता
७ चैत्र २०७४, बुधबार ०९:४०

काठमाडौं । प्रथम ‘नेपाली तारा’को उपाधि जितेसँगै गायनमा चर्चामा आएका दिपकले यो वर्षको १२ महिनामध्ये करिब ८ महिना विदेशकै कार्यक्रममा व्यस्त भए । यो वर्ष दिपकले क्यानडा, अमेरिका, ओमन, युकेलगायतका युरोपियन मुलुकमा आफ्नो सांगीतिक प्रस्तुती पस्कन भ्याए । आउँदो वर्ष अर्थात २०७५ साल लाग्नेवित्तिकै पनि उनी युरोप टुरमै व्यस्त हुने भएका छन् ।

हालैमात्र क्यानडा र अमेरिकाको सांगीतिक टुर सकेर नेपाल आएका दीपकले भने, ‘नेपाल आएपछि दैनिक व्यस्त छु ।’ आफ्नो छ्रैटौ एल्बमको तयारीसँगै विभिन्न स्टेज कार्यक्रम र पाश्र्वगायनमा हिजोआज व्यस्त रहेको उनले सुनाए । उनले भने, ‘अमेरिकाबाट नेपाल फर्केपछि एकदिन पनि फुर्सदले बस्नु पाएको छैन । यहाँ आएपछि ६÷७ वटा चलचित्रमा स्वर दिन भ्याएँ ।’

यो मेला र महोत्सवको सिजन भएकाले पनि कलाकारहरु हिजोआज व्यस्त हुने गरेका छन् । तर, दिपकका लागि सिजन पर्खिरहन आवश्यक छैन । ‘तै भएर मन पराको’ गीत हिट भएसँगै पाश्र्वगायनमा ‘तारा’जस्तै चम्किएका उनको व्यस्तता हरसिजनमा हुन्छ । देश तथा विदेशमा हुने कार्यक्रम र पाश्र्वगायनतमा व्यस्त भएकै कारण आफ्नो एल्बम समयका ल्याउन नसकेको दिपकले बताए ।

एक वर्षअघि गायक तथा संगीतकार उत्तमजंग लिम्बूको एकल संगीतमा ‘श्रेय’ नामक एल्बम सार्वजनिक गरेपछि विदेशकै कार्यक्रम व्यस्त भएका उनले भने, ‘अहिले छैटौ एल्बमको तयारी गर्दैछु । नयाँ वर्षमा एल्बम रिलिज गर्ने सोचका साथ काम गरिरहेको छु ।’ हाल एल्बमका लागि गीत रेकर्डिङहरु गरिरहेको बताउँदै दिपकले भने, ‘यसपटकको मेरो एल्बमका धेरै गीत हुँदैन । तर, जति हुन्छ, सबै किसिमका हुनेछ ।’

कार्यक्रमकै सिलसिलामा संसारका अधिकांश मुलुक टेकिसकेका दिपकले भने, ‘अब फेरि नयाँ वर्षसँगै विदेश कार्यक्रममा व्यस्त हुनेछु ।’ यसपटकको अमेरिकाको सांगीतिक टुरमा १२ वटा एकल शो गर्न भ्याएका दिपकले भने, ‘यो साताभर राजधानी बाहिरै हुनेछु ।’ उनी यो साता दमक, इलाम, कटारीलगायतका स्थानमा सांंगीतिक कार्यक्रममा व्यस्त हुनेछन् ।