७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन विज्ञ सम्मेलन जुनको दोस्रो साता क्यालिफोर्निया हुने

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७४, बुधबार १९:४२

लण्डन । गैरआवासीय नेपाली संघले अमेरिकामा कार्यरत नेपाली विज्ञहरुको एक भेलाको आयोजना गर्ने भएको छ । गैरआवासीय नेपाली संघ अमेरिकी क्षेत्रीय संयोजक गौरी जोशीका अनुसार आगामी जुन महिनाको दोस्रोसाता सो सम्मेलनको आयोजना गरिन लागिएको हो ।

गैरआवासीय नेपाली संघ अमेरिकाको सहकार्यमा जुन महिनाको १६ र १७ तारिख क्यालिफोर्नियामा आयोजना हुने सो सम्मेलनमा गैरआवासीय नेपाली संघका अधिकांस केन्द्रिय नेताहरुको सहभागी हुने जानकारी जोशीले दिए । सम्मेलनमा नेपाल सरकारको तर्फवाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली वा अर्थमन्त्री युवराज खतिवडा मध्य एक जनाले प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ ।

गैरआवासीय नेपाली संघको आयोजनामा आगामी अक्टोवरमा नेपालमा आयोजना गर्ने विज्ञहरुको विश्वसम्मेलनको तयारी स्वरुप पहिलो पटक अमेरिका क्षेत्रमा सो सम्मेलनको आयोजना गरिन लागिएको हो । सोही अवसर पारेर गैरआवासीय नेपाली संघ अमेरिकाले आफ्नो वार्षिक साधारणसभा समेत गर्ने वताएको छ ।
सम्मेलन आयोजक समितिका संयोजक समेत रहेका जोशीका अनुसार एनआरएन अमेरिकासंगको परार्मश पछि यसअघि मे महिनाको पहिलो सातामा हुने भनिएको सो सम्मेलन जुन महिनाको लागि सारिएको हो ।

सो सम्मेलनलाई सफल पर्न एनआरएन अमेरिकाको अध्यक्ष डा. केशव पौडेललाई सहसंयोजक समेत तोकिएको छ । सम्मेलनमा करिब २ सय विभिन्न क्षेत्रका विज्ञहरु उपस्थित हुने अपेक्षा गरिएको छ ।