१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बार्सिलोनामा सम्झिए कोइराला

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७४, बुधबार २३:५७

बिजय शर्मा । बार्सिलोना । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ८ औं स्मृति दिवस विशेष कार्यक्रम गरी बार्सिलोनामा मनाईएको छ । नेपाली जनसम्पर्क समिति स्पेनले आयोजना गरेको उक्त कार्यक्रममा धेरै बक्ताहरुले राजनीतिक सहमति र सहकार्यले मात्र मुलुकको विकास हुन्छ भन्ने कोइरालाको भनाई आज पनि सान्दर्भिक रहेको बताएका छन् ।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्र शर्माको अध्यक्षतामा स्मृति सभा सम्पन्न भएको हो । अध्यक्ष शर्माले २००७ सालदेखि नेपाली कांग्रेसमा कोइरालाको योगदान, प्रजातान्त्रिक आन्दोलनमा भूमिका, माओबादी द्वन्द्व व्यवस्थापन तथा शान्ति वार्ताका साथै लोकतान्त्रिक आन्दोलनका एक कुशल योद्धाको रुपमा दिवंगत कोइराला परिचित रहेको चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै नेपाली जनसम्पर्क समिति सबैसँग सहमति, सहकार्य, सहयोगको भावनाले हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवं संस्थापक अध्यक्ष चिन्तामणि सापकोटाले गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धासुमन अर्पण गर्दै नेपाली प्रजातान्त्रिक आन्दोलन देखि शान्ति प्रकृया कोइरालाको भूमिकाबारे चर्चा गरेका थिए ।

समितिका सल्लाहकारहरु सन्तोष श्रेष्ठ , उमेश अधिकारी , बिष्णु रिजालले मुलुकमा जनतालाई मालिक बनाउने कोइराला महानायक भएको बताए । कोइरालाको स्पष्ट दृष्टिकोणले निरंकुश राजतन्त्र अन्त्य र प्रजातन्त्रको बहाली गर्न धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

त्यस्तै शोक कार्यक्रममा गैर आवासीय नेपाली संघका सचिब लोक बन्धु बस्नेत , नेपाली जनसम्पर्क समितिका प्रबक्ता लक्ष्मण खत्री , सदस्य प्रविन लोहार , अन्जु अधिकारी तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

शोक सभामा उपस्थित सम्पूर्णलाई उपाध्यक्ष बिदुर गौतम आफ्नो मन्तव्यमार्फत स्वागत व्यक्त गर्दै कांग्रेसको ईतिहास स्थापनाकालदेखि गणतन्त्र नेपालका महानायकको रुपमा कोइराला स्थापित भएको बताएका थिए । स्वर्गीय कोइरालाका महान् वाणीहरु कांग्रेस र वर्तमान राजनीतिक वृत्तमा उतिनै आवश्यक रहेको बताउँदै महामन्त्री बिराज शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।