१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कांग्रेस कोषाध्यक्ष भेलामा महामन्त्री शंसाक मध्यमार्गी

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०७४, बिहीबार ०४:३३

नुवाकोट । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरूको दोस्रो राष्ट्रिय सम्मेलन हिजो बुधबारदेखि शुरु भएको छ । कांग्रेस जिल्लाका कोषहरूलाई पारदर्शी, सुदृढ र जवाफदेही बनाउन आयोजना गरिएको सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्ने शीर्ष नेताहरूले पार्टी कमजोर हुनुका कारण खोजेर सुधार गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा कायम रहेका तिक्तता तथा एक–आपसको बैमनश्यता बिर्सिएर अघि बढ्नुको विकल्प नभएकाले त्यसमा छलफल चलाउन कोषाध्यक्षहरूलाई आग्रह गर्नुभयो ।

“कोषाध्यक्षलाई महासमिति बैठकमा आमन्त्रित सदस्यको रुपमा सहभागी गराएर यहाँ छलफल हुने विषयमा धारणा राख्न दिइनेछ ।” सभापति देउवाले भन्नुभयो “शुक्रबारदेखि शुरु हुन लागेको केन्द्रीय समितिको बैठकमा निर्वाचनमा भोगेको पराजयको विषयमा हुने छलफल यही कोषाध्यक्षहरूको भेलाबाट अघि बढाउनु जायज हुन्छ ।”

वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले काँग्रेसको सिद्धान्तलाई स्वीकार गरेपनि पार्टीभित्रकै कमजोरीको कारण पछिल्ला तीनवटै चुनावमा ठूलो क्षति भोग्नुपरेको बताउनुभयो । “पार्टीको सिद्धान्त राम्रा थिए तर, नेता र कार्यकर्ताले जनतालाई त्यसको विशेषता बुझाउन सकेनन्,” पौडेलले भन्नुभयो “हारपछि पार्टी सुस्त भए पनि थप चलाएमान भएमा अर्को पटक नतिजा उल्टाउन सकिनेछ, त्यही विश्वास लिनुपर्छ ।”

महामन्त्री डा शशांक कोइरालाले आफ्नो पार्टीको नेतृत्वमा भएका विकासको प्रचार गर्न नसक्नु अनि आन्तरिक प्रतिस्पर्धामा गुट र उपगुटमा फस्नु पराजयका कारण भएकाले त्यसमा सम्मेलनले सही विश्लेषण गर्दै घोषणापत्रमा उल्लेख गर्नुपर्ने सुझाव दिनुभयो ।

सम्मेलनमा पार्टी कोषाध्यक्ष सितादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू अर्जुननरसिह केसी, डा.प्रकाशरण महतलगायतले पछिल्लो निर्वाचनअन्तर्गत स्थानीयतहमा माओवादी केन्द्रसँगको निर्वाचन एकता घातक बनेको र प्रदेश र संघीय निर्वाचनमा पार्टीको एजेण्डा प्रभावकारी भएपनि वाम–गठबन्धनको सस्तो प्रचारबाजी चिर्न नसक्नु नै हारको मुख्य कारण भएको विचार व्यक्त गर्नुभयो ।

उहाँहरूले अब पार्टीभित्रका स–साना विवाद तथा गुटगत प्रवृत्ति अन्त्य गरी एकढिक्का भएर अघि बढ्न शीर्ष नेतादेखि कार्यकर्तासम्ममा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो ।

“लोकनायक गिरिजाप्रसाद कोइरालाको आठौँ पुण्यतिथि’को अवसर पारेर आयोजना गरिएको मुलुकभरका कोषाध्यक्षहरूको दोस्रो सम्मेलनले वर्तमान सन्दर्भमा कांग्रेसको कमजोर अवस्था र कार्यकर्तामा छाएको निरासाको समीक्षा, बन्दसत्र र प्रशिक्षणमा जिल्लाको रिपोटिङ, भावी रणनीति तय एवम् संयुक्त घोषणापत्र जारी गर्ने कोषाध्यक्षका संयोजक गोविन्द पुडासैनीले जानकारी दिनुभयो ।

बुधबार रातिदेखि शुरु भएको बन्दसत्र प्रशिक्षणसहितको हुने र त्यो बिहीबारसम्म चल्ने तनहुँ कोषाध्यक्ष रेशम गुरुङले बताउनुभयो । सम्मेलन रसुवाको स्याफ्रुवेसीमा शुक्रबार भेलाको समीक्षा बैठकसहित समापन हुनेछ ।