१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डढेलो नियन्त्रण बारे बागलुङमा अन्तरक्रिया

sarusaru
८ चैत्र २०७४, बिहीबार ०८:१३

वनमा लाग्ने डढेलो नियन्त्रण गर्दै त्यसबाट लिन सकिने फाईदाको बारेमा आम जनतामझ सूचना प्रसारण गर्नुपर्ने भन्दै जिल्ला वन कार्यालयले पत्रकार अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यालयले आयोजना गरेको अन्तरक्रियामा जिल्ला वन अधिकृत बिसाल घिमिरेले डढेलोले नेपालको अर्बौ रुपैयाँको भौतिक सम्पत्ति क्षति भएको बताए । साथै जटिबुटी, जंगली जनावर तथा मानवीय क्षति समेत हुने गरेको बताए । साथै डढेलोको कारण खानेपानीका मुहान सुक्नेदेखि मानव जीवनमा धेरै समस्या आउने भएकोले डढेलोबाट जोगिने उपायाबारे आम जनतालाई सचेत बनाउनुपर्नेमा जोड दिए ।
उनले पत्रकारमार्फत सहि सूचना प्रवाह गरेर जनतालाई सूसुचित गराउनुपर्ने धारणा राखेका थिए । घिमिरेका अनुसार, गत आर्थिक बर्ष बागलुङमा ७ सय हेक्टर जमिनको जंगलमा डढेलोले नष्ट गरेको थियो । उक्त तथ्यांकसंगै केही मानिस र जनावर समेत मरेका थिए । यो बर्ष भने उक्त क्षति न्युनिकरणका लागि जिल्ला वनले मानव सिर्जित डढेलो नियन्त्रणका लागि पहल थाल्ने उनले बताए । उपभोक्ता समिति, विद्यार्थी र अन्य सरोकारवालासंग क्षति नियन्त्रणबारे चेतना अभियान संचालन गरेर न्युनिकरणमा लागेको जिल्ला वन अधिकृत बिसाल घिमिरेले बताए । गुल्मीबाट सरुवा भएर आएका घिमिरेले त्यहाँ गरेका सफल अभ्यासलाई जिल्लामा पनि दोहो¥याउने बताए । डढेलोको प्रकोप बढ्नुमा सुख्खा खडेरी बढेको, सल्लाको वन धेरै भएको र भौगोलिक कठिनाईका कारण नियन्त्रण गर्न कठिन हुने गरेको छ । आगोलागी नियन्त्रणका लागि चेतना विकासको काम नगरी नहुने उनले बताए ।
घिमिरेका अनुसार, मानवको लार्पवाहीले ८० प्रतिशत आगोलागी हुने गरेको भेटिएको छ । यो समस्या घटनाउन आगोलागी नियन्त्रण गर्न सकिने उपकरण बितरणदेखि लाग्नै नदिने उपायाको खोजीमा रहेको उनले बताए । घाँस दाउरा संकलनमा जंगलको भर पर्न छाडेपछि डढेलो बढेको उनले बताए । डढेलोले करोडौंको काठपात, जडिबुटी र जंगली जनावर नष्ट हुने गरेको छ । अन्तरक्रियामा सहायक वन अधिकृत रामबहादुर बिक, प्रकाश थापा र उपेन्द्र अर्यालले पनि वनजन्य जडिवुटीको संकलन, निकासी लगायतका काम बारे बताएका थिए । बागलुङमा ९० प्रजातीका जडिवुटी पहिचान भएको र १७ प्रजाती निकासी हुने गरेको बिकले बताए । बिकका अनुसार, बागलुङबाट सुगन्धवाल, सतुवा, नागबेली र चिराईतो निकासी हुने गर्छ । सहायक वन अधिकृत रामबहादुर बिकको संचालनमा भएको कार्यक्रममा हालै सरुवा भएर आएका जिल्ला वन अधिकृत घिमिरेले आफ्नो परिचयात्मक कार्यक्रमसहित अन्तरक्रिया गरेको स्पष्ट पारेका थिए ।