१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रवासी नेपालीले विदेशबाटै भोट खसाल्न पाउने

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०७४, बिहीबार १२:४९

काठमाडौं । अध्ययन वा रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीले उतैबाट मतदान गर्न पाउने भएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री कार्यालय, मन्त्रिपरिषद, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोगलगायत सम्बद्ध निकायलाई त्यस्तो व्यवस्था मिलाउन बुधबार आदेश दिएपछि विदेशमा रहेका नेपालीले मताधिकार पाउने भएका हुन् ।

अब सरकारले विदेशमा रहेका नेपालीले उतैबाट मतदान गर्ने व्यवस्था मिलाउनुपर्नेछ । विदेशमा रहेका नेपालीलाई बाह्य मताधिकार माग गर्दै दायर गरिएको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

सामाजिक न्यायका लागि कानुन तथा नीति मञ्चले एक वर्षअघि सर्वोच्च अदालतमा विदेशमा रहेका नेपालीलाई मताधिकार माग गर्दै रिट दायर गरेको थियो । उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र सपना मल्ल प्रधानको इजलासले फैसला सुनाएको हो ।

विदेशबाट मतदान गर्न पाउने व्यवस्था नहुँदा रोजगारी, अध्ययन लगायत अन्य सिलसिलामा स्वदेशबाहिर रहेका ४० लाख हाराहारी नेपालीले मताधिकार गर्न पाउँदैनन् ।