७ बैशाख २०८१, शुक्रबार
Follow Us

एकल महिलालाई हेर्ने दृष्टिकोण बदलिएन

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०७४, बिहीबार १२:५५

अञ्जु कार्की, सञ्चारकर्मी
चार वर्षअघि नेपाल टेलिभिजनमा कार्यरत वीरेन्द्र कार्कीको कार्यस्थलमै मस्तिष्कघात भएपछि यो संसारमा अञ्जु कार्कीले आफूलाई एक्लो पाइन् । यद्यपि आफूलाई परिवारको नासोले एक्लो महसुस हुन नदिएको उनी बताउँछिन् । पत्रकारिता र समाजसेवालाई एक साथ अघि बढाइरहेकी अञ्जु लायन्स क्लब सदस्य पनि हुन् । पेसा, समाजसेवा र परिवारलाई डो-याउनुपर्ने उनीमाथि दायित्व थुप्रिएको छ । यी कुरालाई अञ्जुले कसरी म्यानेज गरिरहेकी छन् भन्ने जिज्ञासामा उनी यसरी प्रस्तुत भइन् ।

० कहिलेदेखि पत्रकारिता क्षेत्रमा हुनुहुन्छ ?
– डेढ दशकभन्दा बढी भयो । विशेषतः श्रव्यदृश्य सञ्चारमाध्यममा टेबुलवर्क गर्नुपर्ने भएकाले त्यति परिचित छैन । यद्यपि पेसामा निरन्तर छु ।

० कुन सञ्चारमाध्यमबाट काम सुरु गर्नुभयो ?
– च्यानल नेपालमा समाचार सम्पादन गर्थे,ं अहिले टिभी टुडेमा छु ।

० पत्रकारिताले जीविकोपार्जन हुन्छ ?
– आवश्यकताअनुसार पूरा नहोला, तर धेरथोर सहयोग पुगेको छ । म विहान बेलुकी सहायक काम पनि गर्छु ।

० कस्तो सहायक काम ?
– जिल्ला शिक्षा कार्यालयले सञ्चालन गरेको कम्युनिटी लर्निङ सेन्टरमा सामुदायिक परिचालकको रूपका कार्यरत छु । यो साक्षरता बनाउने राज्यको परियोजना हो । प्रौढ शिक्षा, शिक्षाबाट वञ्चित भएका बालबालिकालाई त्यहाँ पढाइन्छ ।

० कत्ति छन् यस्ता सेन्टर ?
– कानमपा–३२ मा पाँचवटा सेन्टर छन् । त्यसमध्ये एउटा सेन्टरमा म अध्यापन गराउँछु ।

० कति छन् विद्यार्थी ?
– ६० जनाभन्दा बढी होलान्, यो सामुदायिक अनौपचारिक शिक्षा हो । प्रौढ शिक्षामा ३५ देखि ५० वर्ष उमेर समूहका पढ्छन् । भूकम्प पीडित तथा शिक्षाको पहुँच नपुगेका बालबालिकालाई पढाइन्छ ।

० कति साक्षर बनाइसक्नुभयो ?
– त्यसको हिसाबकिताब राखेकी छैन, यद्यपि अहिले प्रौढ शिक्षा पढिरहनु भएकाहरू साक्षर भएर अंग्रेजी भाषा सिक्दै हुनुहुन्छ ।

० यो उमेरमा किन अंग्रेजी शिक्षा ?
– सिक्न र जान्नलाई उमेरले छेक्दैन भन्ने कुरा प्रौढ शिक्षा पढिरहनु भएकाबाट जान्न सकिन्छ । कसैले अंग्रेजीमा नाम सोधे अंग्रेजीमै उत्तर दिने उनीहरूको रहर छ ।

० कस्ताले पढ्न पाउँछन् ?
– इच्छा भएको जोकोहीले पढ्न पाउँछन् । राज्यले शिक्षाबाट कोही वञ्चित नहुन् भनेर यो परियोजना सञ्चालन गरेको हो । तीन–तीन महिनाको कक्षा सञ्चालन हुन्छ । मैले अध्यापन गराउन थालेको पाँच वर्ष भइसक्यो ।

० पत्रकारिता समय कतिबेला ?
– १०–५ को जागिर हो, दिनभरि म सम्पादन कार्यमै व्यस्त रहन्छु । समाचार, डकुमुन्ट्रीलगायत अन्य सामग्री सम्पादमै समय बित्छ । बिहान बेलुकी कम्युनिटी लर्निङ सेन्टरमा पुग्छु । त्यसबाहेक घरको काम र अध्ययन लेखनका लागि पनि समय निकाल्नुपर्छ । समय निकालेर राष्ट्रिय दैनिकमा लेख पनि लेख्छु । अर्थात् समग्रमा म व्यस्त छु ।

० लेखनको विषय के रोज्नु हुन्छ ?
– समयसामयिक विषयवस्तुले पहिलो प्राथमिकता पाउँछ । त्यसपछि महिलाको इस्युमा कलम चलाउँछु ।

० पत्रकारितामा कसरी आकर्षित हुनुभयो ?
– श्रीमान् वीरेन्द्र कार्की नेपाल टेलिभिजनमा काम गर्नुहुन्थ्यो । उहाँ सम्पादन विभागमै हुनुहुन्थ्यो । चार वर्षअघि मास्तिष्कघात भएर उहाँको कार्यस्थलमै निधन भयो । उहाँको पे्ररणाले म पनि यो क्षेत्रमा संलग्न हुन आइपुगें ।

० त्यसपछि ?
– अहिले म एकल महिला हुँ, छोरी १२ कक्षामा अध्ययन गर्दैछिन्, छोरा चार कक्षामा पढ्छ । उनीहरूको आधारभूत आवश्यकता पूर्ति गर्न पनि मैले धेरै मेहनत गर्नुपरेको हो ।

० एकल जीवन ?
– सम्झँदै पीडाबोध हुन्छ । तर सधैं पीडा सम्झेर मात्र नहुने रहेछ । पीडा बिर्सेर आशाका जीजिविषाहरू विस्तारै अँकुराउँदो रहेछ । श्रीमान्को नासोले बाँच्नलाई प्रेरणा दिँदो रहेछ, हाँस्नलाई सहयोग गर्दोरहेछ ।

० एकल महिलालाई समाजले कसरी हेर्दो रहेछ ?
– यसमा फरक–फरक दृष्टिकोण पाएँ । तीजको व्रत बस्दा अथवा गुलावी लुगा लगाउँदा राम्रो मानिएन । श्रीमान् नभएपछि व्रत बस्नुको अर्थ हुँदैन भनिँदो रहेछ । एकल महिला भरशक्य घरभित्रै सीमित हुनुपर्छ भन्ने मान्यता राखिँदो रहेछ ।

० उनीहरूलाई के जवाफ छ ?
– सम्बन्ध विच्छेद गरेका महिलाका सम्बन्धमा समाजमा यस्तो धारणा छैन । समाजका हरेक गतिविधिमा ऊ स्वतन्त्र हुन्छे, तर एकल महिलाप्रति धार्मिक र सामाजिक गतिविधिमा उपस्थित नहोस् भनिन्छ । सम्बन्ध विच्छेद र एकल महिला उस्तै होइनन् र ?

० यसरी प्रश्न उठाउने महिला कि पुरुष ?
– महिलाहरू नै बढी छन् । तर परिवर्तनसँगै समाजका एकाधसँग मात्र यस्तो धारणा छ, जो परम्परा र रुढीवादभन्दा माथि उठ्न सकेका छैनन् ।

० पुरुषको धारणा ?
– धेरैलाई म एकल हुँ भन्ने थाहा छैन, जतिलाई थाहा छ, उहाँहरूलाई म आदर गर्छु, उहाँहरूबाट माया पाएकै छु ।

० एकल महिलालाई आँखा लगाउने धेरै हुन्छन् भन्छन् ?
– होला, किनभने हाम्रो समाज विचित्रको छ । तर, मैले त्यस्तो दुव्र्यवहारको घटना अहिलेसम्म व्यहोर्नु परेको छैन । सबैसँग आदर र सद्भावकै व्यवहार पाएकी छु ।

० सिन्दूर, चुरापोते लगाउनु हुन्छ ?
– पतिको निधनपछि सिन्दूर, चुरापोते फिर्ता गर्नुपर्छ भन्छन् । तर मैले फिर्ता गरेको छैन, सार्वजनिक स्थलमा लगाएरै हिँड्छु ।

० एक्लो जीवन कठोर पनि हुँदो होला नि ?
– सम्झनुहोस्, रथको एउटा पांग्रा भाँचियो भने के हुन्छ ? त्यस्तै भयो मेरो जीवन । हरेक कुरामा आफूलाई कमजोर महसुस हुँदो रहेछ । घरको समस्यादेखि लिएर हरेक कुरामा श्रीमान्को अभाव खड्किँदो रहेछ ।

० छोराछोरीलाई के बनाउँदै हुनुहुन्छ ?
– मैले बनाउने होइन, उनीहरूको लगाव केमा छ, त्यसैले निर्धारण गर्छ । छोरीले नर्सिङ पढ्ने इच्छा देखाएकी छन् । छोरा अभिनय क्षेत्रमा लाग्छु भन्छ ।

० थातथलो कहाँ हो ?
– उदयरपुरको जलजले हो, महेन्द्र मोरङबाट स्नातकसम्मको अध्ययन सकें । बाँकी अध्ययन त्रिचन्द्रबाट पूरा गरेकी हुँ ।

० विवाह कसरी सम्भव भयो ?
– मागी विवाह हो, जेठानी दिदीमार्फत विवाह सम्भव भएको हो ।

० कस्तो परिवार थियो ?
– बुवा अंग्रेजीमा प्राध्यापन गर्नुहुन्थ्यो, दुई भाइकी म एउटी चेली हुँ ।