१३ बैशाख २०८१, बिहीबार
Follow Us

एन्फा निर्वाचन तत्काललाई स्थगित, निलम्बनको खतरा

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०७४, बिहीबार १४:०१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन अर्को आदेश नभएसम्मका लागि स्थगित भएको छ । भक्तपुर र मकवानपुर जिल्ला संघको विवाद चलिरहँदा पाटन उच्च अदालतले बिहीबार अन्तरिम आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि निर्वाचन नगर्न निर्देशन दिएको हो ।

भक्तपुर र मकवानपुरले चैत १४ गते हुँदै गरेको एन्फाको निर्वाचनमा ‘भोटिङ राइट पाउनुपर्छ’ भनेपछि उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले यस्तो अन्तरिम आदेश दिएको हो । सो सम्बन्धमा भक्तपुर जिल्ला अदालतमा पेसी जारी रहँदा पाटन उच्च अदातलमा पनि रिट निवेदन परेको थियो । मकवानपुरमा निर्वाचन भइसके पनि मान्यता नदिएको बताइएको छ ।

यस सम्बन्धमा आफूले आधिकारिक जानकारी पाइनसकेको भन्दै एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले थप जानकारी लिने प्रयासमा रहेको बताए । यता, एन्फाको निर्वाचन पर धकेलिने हो भने फुटबलको सर्वोच्च निकाय फिफाबाट एन्फा निलम्बनमा पर्ने खतरासमेत औंल्याइएको छ । एन्फा निर्वाचनमा नेतृत्वका लागि कर्माछिरिङ शेर्पा र मणि कुँवर पक्षबीच भिडन्त हुँदै थियो ।