१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘देउवा सरकारको अलोकप्रिय निर्णय निर्वाचनमा पराजयको कारण’

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७४, शनिबार १०:२२

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा भोग्नुपरेको पराजयको समीक्षा र आगामी रणनीति तय गर्न शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार दोस्रो दिन पनि बसिररहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको आलोचनामा आफ्नो समय खर्चिएका छन् ।

शनिबारको बैठकको सुरुमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशी र हरि नेपालले सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टी संगठन ध्वस्त भएको र देउवा नेतृत्वको सरकारले गरेको अलोकप्रिय निर्णयका कारण निर्वाचनमा पराजय व्यहोर्नुपरेको आरोप लगाए ।

अर्का केन्द्रीय सदस्य नरहरि आचार्यले भने एकापसमा आरोप–प्रत्यारोप गर्नुभन्दा सामूहिकताको आधारमा पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने बताए । प्रवक्ता विश्वप्रकाश शर्माले जारी केन्द्रीय समिति बैठकले ठोस निर्णय र भावी रणनीतिको कार्ययोजना तय गर्ने जानकारी दिए ।

निर्वाचन समीक्षा र समसामयिक राजनीतिक विषयमा धारणा राख्ने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले बैठक केही दिन लम्बिने प्र्रवक्ता शर्माले जानकारी दिए । शुक्रबारको बैठकमा नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र नारायण खड्काले आफ्ना धारणा राखेका थिए । उनीहरुले पार्टी दुर्गतिको मुख्य जिम्मेवार सभापति देउवा भएको भन्दै कडा आलोचना गरेका थिए ।