१५ चैत्र २०८०, बिहीबार
Follow Us

चैत्रभित्रै पार्टी एकता निष्कर्षमा पु-याइने

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७४, शनिबार १२:४९

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकतालाई शीघ्र टुंग्याउने गरी आवश्यक तयारी गरिएको छ । दुवै पार्टीले पार्टी एकतालाई अन्तिम टुंगो लगाउने गरी आन्तरिक तथा दुई पक्षीय तयारीलाई तीव्र पारेका छन् । सकेसम्म चैत महिनाभित्रै पार्टी एकतालाई निष्कर्षमा पु-याउने गरी तयारी थालिएको छ ।

नेकपा (माओवादी केन्द्र) को आज बसेको केन्द्रीय कार्यालयको बैठकले पनि चैत महिनाभित्रै पार्टी एकतालाई तार्किक निष्कर्षमा पु-याउने गरी आवश्यक तयारी थाल्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको बैठकले केही दिनभित्रै एकता संयोजन समितिको बैठक बस्ने र एकता प्रक्रियालाई निष्कर्षमा पु-याउने निर्णयसमेत गरेको छ ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले पार्टी एकतालाई चाँडै टुंग्याउने गरी दुवै पार्टीले गृहकार्य अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले आगामी साता एकता प्रक्रियालाई अन्तिम रुप दिने गरी छलफल अगाडि बढाइएको र सोहीअनुसार प्राविधिक एवं सैद्धान्तिक पाटोलाई अन्तिम चरणमा पु-याइएको बताउनुभयो ।

एमाले र माओवादी केन्द्रले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको वैशाख १० गतेका दिन पार्टी एकता घोषणा गर्ने बताउँदै आएका थिए । तर सो समयसीमा भन्दा अगावै पार्टी एकता गर्ने गरी तयारी गरिएको छ ।

प्रदेश इन्चार्ज हेरफेर
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । नयाँ जिम्मेवारीअनुसार प्रदेश १ मा राम कार्की, प्रदेश २ मा विश्वनाथ साह, प्रदेश ३ मा हितमान शाक्य, प्रदेश ४ मा हितराज पाण्डे, प्रदेश नं ५ मा मणि थापा, प्रदेश नं ६ मा जनार्दन शर्मा र प्रदेश नं ७ मा लेखराज भट्टलाई जिम्मेवारी तोकिएको छ ।

प्रदेश नं १ का इन्चार्ज गोपाल किराँतीले पार्टी छोडेको, प्रदेश नं २ का मातृकाप्रसाद यादव, प्रदेश नं ५ का वर्षमान पुन र प्रदेश नं ६ का शक्ति बस्नेत मन्त्री बनेको र प्रदेश नं ४ का देवप्रसाद गुरुङ संसदीय दलको प्रमुख सचेतक बनेका कारण जिम्मेवारीमा हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ ।