८ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टी विरामी भएको ‘बोध’

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७४, शनिबार १४:१८

काठमाडौं । हिजो शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा शनिबार ८ जना केन्द्रीय सदस्यले बोले । बैठकको सुरुमा मर्यादाबारे केही विवाद उठेपछि केही समय बैठक हल नै गुन्जमान बनेको थियो । केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले वरिष्ठ नेता रामचन्द्र पौडेलपछि मर्यादाक्रममा गोपालमान श्रेष्ठ हुनुपर्ने प्रस्ताव राखेपछि पूर्वमहामन्त्री प्रकाशमानसिंहले त्यसको कडा विरोध गरे । नेता सिंहले मर्यादा मिलाउने भए सबैको मिलाएर बैठकमा पेश गर्न भनेपछि हल्लीखल्ली सुरु भएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सम्बन्ध सुमधुर हुनुपर्ने बताएका छन् । कांग्रेसलाई सुदृढ गर्नका लागि सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको सम्बन्ध हार्दिक हुनुपर्नेमा उनले जोड दिएका हुन् । ‘‘कांग्रेस र नागरिकबीचको सम्बन्धलाई व्यवस्थित गर्न तर्फ लाग्दा सभापति र वरिष्ठ नेताबीचको सम्बन्ध हार्दिक भएन भने त्यसले कति राम्रो होला ?’’ केन्द्रीय सदस्य जोशीले बैठकमा प्रश्न राखे ।

जोशीले कांग्रेसका शीर्ष नेताहरुको बीचमा निरन्तरर छलफल र बहस हुनु पर्नेमा जोड दिए । ‘‘कुनै पनि मुद्दामा निरन्तर छलफल भएर त्यसलाई तल्लो तहसम्म लाने व्यवस्था पनि कांग्रेसले सुरु गर्नु पर्दछ ।’’ केन् द्रीय सदस्य जोशीले भने ।लोकमान प्रकरण, प्रधानन्यायाधिश प्रकरण, ईयुको हस्तक्षेपकारी भूमिका आदिको नामै लिएर उनले अगामी दिनमा कांग्रेसले समसामयिक मुद्दाहरुलाई तत्काल सम्बोधन गर्ने परिपार्टीको सुरुवात गर्नु पर्ने पनि बताए ।
नेता नरहरि आचार्यले आफूलाई कांग्रेसको सदस्यको जिम्मेवारी बोध भएर नै समीक्षा बैठकमा उपस्थित भएको प्रतिक्रिया दिए । ‘‘पार्टीले चुनावको समीक्षा गर्दै गर्दा मलाई पनि जिम्मेवारी बोध भएको छ । पहिले बिरामीको मात्रै बोध हुन्थ्यो, अहिले बिरामीभन्दा पार्टीको सदस्यको जिम्मेवारी बोध भएको छ ।’’ उनले भने ।

‘‘कांग्रेस पराजयको स्थितिमा सबै नेताहरु गम्भीर भएको पाएको पाएको छु’’, आचार्यले सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा भने ‘‘बैठकले मात्रै सबै कुरोको निर्धारण गर्न भ्यादैन होला तर यसले पनि लिने निर्णयले केही मात्रामा सकारात्मक योगदान दिनेछ ।’’
शनिबार नरहरि आचार्य, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, नविन्द्रराज जोशी, गुरुराज घिमिरे, कल्याणकुमार गुरुङ, बीरबहादुर बलायर र हरिप्रसाद नेपालले आ–आफ्नो धारणा राख्नु भएको थियो । बैठक २०७४ चैत्र १२ गते विहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।