१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आज चैते दशै र रामनवमी मनाइँदै

नेपालब्रिटेन संवाददाता
११ चैत्र २०७४, आईतवार ०५:२३

काठमाडौं । चैत्र शुक्ल अष्टमी र नवमी दुवै परेकाले चैते दशै र रामनवमी आज एकै दिन मनाइँदै छ । आइतबार बिहान साढे ८ बजे सम्म अष्टमी रहेको र त्यसपछि नवमी तिथि सुरु भएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व मनाउनुपर्ने शास्त्रीय वचन रहेकाले दुवै पर्व यो वर्ष एकै दिन परेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् रामचन्द्र गौतमले जानकारी दिनु भएको छ ।

त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्र रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको बताइन्छ ।

संस्कृतिविद विनोद राज शर्माले चैते दशैमा पनि नवरात्र पर्वकै रुपमा चैत्र शुक्ल प्रतिपदा देखिनै मनाउने गरिएको बताउनु भएको छ । वर्षभरीका चार नवरात्र मध्ये यो नवरात्र पनि प्रमुख नवरात्र मै पर्ने उहाँको धारणा छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुई पटक मनाउने गर्दछन् ।