१५ बैशाख २०८१, शनिबार
Follow Us

एमाले र माओवादी एकता कार्यदलले चैत्र १४ सम्म मस्यौदा टुंग्याउने

नेपालब्रिटेन संवाददाता
११ चैत्र २०७४, आईतवार १४:५१

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकताका लागि गठित अन्तरिम राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलले चैत्र १४ गते मस्यौदा प्रतिवेदन टुङ्गो लगाउने भएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आईतबार बसेको कार्यदल बैठकले मस्यौदा प्रस्तावलाई चैत्र १४ गते अन्तिम रुप दिने निर्णय गरेको हो । एमाले नेता माधवकुमार नेपाल नेतृत्वको उक्त कार्यदलले राजनीतिक विषय समेटिएको प्रतिवेदन दफाबार छलफलपछि मात्र पारित गर्ने निर्णय गरेको हो ।

कार्यदल अन्तर्गतको उपसमितिले बिहीबार कार्यदलमा प्रतिवेदन बुझाएको र सोहि प्रतिवेदनमाथि बिस्तृत छलफल गर्दे अन्तरिम राजनीतिक प्रतिवेदन मस्यौदा प्रतिवेदनलाई अन्तिम रुप दिने निर्णय गरिएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टी एकता संयोजन समितिले फागुन ७ गते १५ दिनको कार्यावधिसहित माधव नेपालको संयोजकत्वमा प्रतिवेदन मस्यौदा कार्यदल गठन गरेको थियो भने समयमा नै प्रतिवेदन तयार भएपछि फागुन २५ गते कार्यदलको समयसीमा चैत ५ गतेसम्म थप गरिएको थियो । तर, सकिएको समयसीमामा पनि अन्तिम प्रतिवेदन भने तयार हुन सकेन । नेता श्रेष्ठले २०७४ वैशाख ९ गते लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन पार्टी एकताको घोषणा गर्ने दुबै दलको तयारी भएपनि त्यो भन्दा अघि पनि एकता हुन सक्ने जानकारी दिए ।